आज नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै डा. विकास देवकोटा ।

हेटौंडाः कोरोना भाइरस संक्रमित मध्ये २ सय ९० जना कोरोना भाइरसमुक्त भएका छन् । कोरोना संक्रमित २ हजार ६ सय ३४ जना मध्ये २ सय ९० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा बिहिबार थप ३३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बिहिबार कोरोना भाइरस संक्रमित पुष्टि भएकामध्ये ३१९ जना पुरुष र १५ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यसैगरी गत २० गते पाल्पाको मिशन अस्पतालमा मृत्यु भएका ४५ वर्र्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको छ । उनी ५ दिन अगाडि भारतबार नेपाल आएका थिए । यो सँगै नेपालमा १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

हालसम्म प्रदेश १ मा १९७ जना, प्रदेश २ मा ९६३ जना, बागमती प्रदेशमा ५९ जना गण्डकी प्रदेशमा ५३ जना, प्रदेश ५ मा ८९८ जना, कर्णाली प्रदेशमा ३८३ जना र सुदरपश्चिम प्रदेशमा ८१ जनामा कोरोनाको संक्रमण देखापरेको छ । नेपालको ७७ मध्ये ६५ जिल्लामा कोरोनाको संक्रमण देखापरेको छ । नेपालमा अहिले २१ स्थानमा पिसिआर विधिबाट कोरोनाको परिक्षण हुँदै आएको छ ।