नागरिक सम्मेलनको उद्घाटनमा सहभागी आयोजक तथा अतिथिहरु ।

हेटौँडााः गैरसरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेशको साधारणसभाको अवसरमा आयोजित नागरिक सम्मेलन–२०८० सकिएको छ । आइतबार र सोमबार दुई दिन हेटौँडामा सम्पन्न नागरिक सम्मेलनले २८ बुँदे घोषणापत्र जारी गरेको छ । समसामयिक विषय र नागरिक अधिकारका मुद्दालाई समावेश गरी २८ बुँदे घोषणापत्र जारी गरिएको छ ।

“विपद् उत्थानशीलता, दिगो विकास र समृद्धिका लागि साझेदारीः स्वतन्त्रता, सुशासन र सामाजिक क्षेत्रको पहिचानका लागि पहरेदारी” भन्ने मूल नाराका साथ नागरिक सम्मेलनको आयोेजना गरिएको थियो । आम नागरिकहरूले भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै नागरिक आवाजलाई राज्य सिर्जित नागरिक आवाज विहिनताको स्थितिलाई सम्बोधन गर्न बागमती प्रदेशका नागरिक अगुवाहरूको उपस्थितिमा उठान भएका प्रस्तुत भएका विचारहरूलाई मनन् गर्दै घोषणापत्र जारी गरिएको बताइएको छ ।

घोषणापत्रमा बालसुधार गृहलाई बालमैत्री बनाउन माग गरिएको छ । घोषणापत्रमा स्थानीय तहमा खाद्य परिषद् गठन गर्न, दैनिक उपभोग्य सामग्रीको बजार भाउ नियन्त्रण गर्न, देशमै टिक्ने र देशमै किक्ने दक्ष जनशक्ति उत्पादनमूखी व्यावसायिक शिक्षा प्रदान गरी स्वदेशमै उपयोग गर्ने ग्यारेन्टी गर्न माग गरिएको छ । सार्वजनिक सेवा सुविधालाई नागरिकमैत्री बनाउन पनि घोषणापत्रमा भनिएको छ । आइतबार गैसस महासंघ बागमती प्रदेश समितिकी अध्यक्ष आरती पाठकको अध्यक्षता तथा बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन कार्यक्रम भएको थियो ।