हेटौँडाः अपेक्षित र उपयुक्त विकासका लागि आवधिक योजनालाई अनिवार्य मानिन्छ । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पनि आवधिक योजना निर्माणको चरणमा छ । आवधिक योजना निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले विज्ञहरुको परामर्शदाता संस्थालाई जिम्मेवारी दिएको छ । हेटौँडा उपमहानगरपालिकाको आवधिक योजना निर्माणमा नगरप्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँ गैरजिम्मेवार देखिनु भएको छ । केही महिनादेखि आवधिक योजना निर्माणमा सक्रिय परामर्शदाता संस्थाले स्थानीय सरकारका आवश्यक संरचनाहरु निर्माणमा समेत सहजीकरण गरिरहेको छ ।
आवधिक योजना निर्माणको प्रक्रियामा मियो मानिने दीर्घकालिन सोँच निर्धारण निर्माणका लागि शनिबार हेटौँडाको एभोकाडो होटेलको बिना हलमा कार्यशाला चलिरहेको थियो । कार्यशाला बिहान १० बजे सुरु हुने भनिए पनि ११ बजेपछि मात्रै सुरु भयो । दीर्घकालिन सोँच निर्धारण गर्न आयोजित कार्यशाला नै पूर्वनिर्धारित समयमा सुरु हुन नसक्नु सामान्य विषय होइन । कार्यशालाको उद्घाटन समारोहमा नगरप्रमुख मीना कुमारी लामाको अध्यक्षतामा भयो । उपमहानगरको दीर्घकालिन सोँच निर्धारण गर्न आयोजित कार्यशालामा उपप्रमुख राजेश बानियाँ भने अनुपस्थित रहनुभयो । नगरप्रमुख र उपप्रमुख नगरको भविष्य कस्तो बनाउने भन्ने नेतृत्व गर्ने सारथी हुन् । तर, दीर्घकालिन सोँच निर्धारण गर्ने कार्यशालामा उपप्रमुखको अनुपस्थिति अर्थपूर्ण र कार्यशालाकै लागि अपूर्ण विषय थियो । उपप्रमुख बानियाँ शनिबार हेटौँडामै विभिन्न सामाजिक संस्थाको कार्यक्रममा सहभागी भइरहनुभएको थियो ।
कार्यशालाको सभाध्यक्षता गर्नुभएकी नगरप्रमुख लामा पनि कार्यशालाको उद्घाटन सकिएपछि सहकारीको साधारणसभामा भाषण गर्न हिँड्नुभयो । प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई पनि उद्घाटन सत्र सकिएपछि कार्यशालाबाट हराउनुभयो । जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखसँगै प्रशासकीय प्रमुखको अनुपस्थितिमा उपमहानगरको दीर्घकालिन सोँच निर्धारण कसरी सार्थक हुन्छ भनी परामर्श दातृ संस्थाका प्रतिनिधि योगेशपूर्ण श्रेष्ठलाई सोधेपछि उहाँ पनि एकछिन झस्किनुभयो । लगत्तै कार्यशाला भइरहेको हलको स्टेजमा पुगेर नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यशाला भइरहेको हलमा बोलाउन कर्मचारीलाई आग्रह गर्नुभयो ।
कार्यशालामा नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतको अनुपस्थितिको विषयलाई लिएर चर्चा सुरु भएपछि नगरप्रमुख मीना कुमारी लामा दिउँसो २ बजेपछि कार्यशाला हलमा आइपुग्नुभयो । कार्यशालामा भइरहेको हलमा आइपुग्नु भए पनि उहाँको भूमिका खासै केही रहेन । अझ भन्ने हो भने नगरको दीर्घकालिन सोँच निर्माणमा उहाँको सक्रिय सहजीकरण, अन्तरक्रिया, विमर्शपछि निश्कर्ष निकाल्ने हुनुपथ्र्यो । तर, त्यसो हुन सकेन । नगरको दीर्घकालिन सोँच परामर्शदातृ निकायका विज्ञले तयार पारिरहेका थिए । नगरको दीर्घकालिन सोँच निर्धारण गर्न आयोजना गरिएको कार्यशालामा १९ जना वडाअध्यक्ष मध्ये एकतिहाई अनुपस्थित थिए । उपमहानगरका प्रवक्ता समेत रहनुभएका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने पनि अनुपस्थित रहनुभयो । नगरको दीर्घकालिन सोँच निर्धारण गर्न आयोजित कार्यशालामा आमन्त्रितको भूमिका के हुने भन्ने पनि निश्चित थिएन ।
कार्यशालामा आउने–जाने, कार्यशालामा सहभागीहरु आआफ्नो गफगाफमा व्यस्त थिए । साढे २ बजेतिर हेटौँडा उपमहानगरपालिकाको शिक्षा उपसमितिका सदस्य सेवा निवृत्त शिक्षक ऋषिराम पोखरेल बाहिरिनुभयो । “दीर्घकालिन सोँच निर्धारण गर्न आयोजित कार्यक्रममा मेरो कुनै भूमिका हुन्छ जस्तो नै देखिनँ अनि निस्किएँ । के भूमिका हो ? के गर्ने ? कसलाई के भन्ने ?”, पोखरेलले भन्नुभयो, “कामै नहुने भएपछि किन बस्नु भनेर निस्किएँ ।” वडाध्यक्षहरु पनि गैरसरकारी संस्थालाई १५ लाखमा ठेक्का दिएको काम न हो भन्दै असन्तुष्टि व्यक्त गर्दै थिए । यद्यपि साँझ ४ बजेपछि कार्यशालाले एउटा निश्कर्ष निकाल्यो हेटौँडा उपमहानगरपालिकाको दीर्घकालिन सोँच “स्वच्छ, उत्पादनशील, समृद्ध शहर हेटौँडा” । कार्यशालामा सहभागी हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका सदस्य भन्दै हुनुहुन्थ्यो, “दातासँग पैसा लिन पनि आवधिक योजना आवश्यक भएकोले बनाउन लागेको जस्तो देखिन्छ ।”
उपमहानगरको दीर्घकालिन सोँच निर्धारण गर्न कार्यशालाको आयोजना गरिएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएपछि हेटौँडा उपमहानगरपालिकाकै पूर्वकर्मचारी तथा हाल पालिकाहरुमा रणनीतिक योजना, आवधिक योजना निर्माणमा विज्ञको रुपमा सहजीकरण गर्दै देशका विभिन्न पालिका पुगिरहनुभएका बीके महर्जनले शनिबार नै लेखमार्फत टिप्पणी गर्नुभएको छ । दीर्घकालिन योजना यसअघि नै निर्माण गरिएको उल्लेख गर्नुहुँदै महर्जनले लेख्नुभएको छ, “सामान्यतया देशले वा सरकारले तय गरेको दीर्घकालिन सोच परिवर्तन वा परिमार्जन गरिँदैन । बरु आवधिक योजनाहरुका आवधिक लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति अन्तर्गत बनेका नीति, कार्यक्रम र बजेट त्यसतर्फ लक्षित गर्ने गरिन्छ ।” महर्जन अगाडि लेख्नुहुन्छ, “ढिलै भएपनि दोश्रो आवधिक योजना तर्जुमा भइरहेको र दीर्घकालिन सोच निर्धारण गोष्ठी सञ्चालन भइरहेको सन्दर्भमा केही जिज्ञासाहरु उठ्न सक्छ, के हेटौँडाले पर्यावरणीय स्वच्छता, हरियालीकरण, सरसफाईयुक्त शहरको आधारशिलाबाट बाहिर जान खोजेको हो ? गुणस्तरीय शिक्षा, शैक्षिक हव र सृजनशीलताबाट पछि हट्न खोजेको हो ? के हेटौँडा उद्यमशीलता, औद्योगीकरण, व्यापार व्यवसायको प्रवद्र्धन र विकासको लक्ष्यबाट बाहिर जान खोजेको हो ?” पहिलो आवधिक योजनाले आत्मसात गरेका दीर्घकालिन सोच आजको दिनमा पनि त्यतिकै औचित्यपूण र सान्दर्भिक रहेको महर्जनको तर्क छ ।











