हेटौँडाः हेटौँडा–८, कमानेस्थित एकादशी राधाकृष्ण मन्दिरमा अक्षयकोष स्थापना गर्ने उद्देश्यले भदौ २९ गतेदेखि असोज ५ गतेसम्म आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञको आयव्यय विवरण शनिबार सार्वजनिक गरिएको छ । सप्ताह सकिएको दुई सातामै मूल समारोह समितिले मन्दिर परिसरमै आयव्यय विवरण सार्वजनिक गरेर बचत भएको रकम मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
सप्ताह आयोजक मूल समारोह समितिका संयोजक धर्मराज पुडासैनीको सभाध्यक्षता तथा वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा आयव्यय विवरण सार्वजनिक गर्दै मन्दिर संरक्षण समितिका अध्यक्ष शम्भुप्रसाद दुलाललाई बचत भएको रकम हस्तान्तरण गरिएको हो । सप्ताहको आयव्यय विवरण अर्थउपसमितिका संयोजक प्रवेश पोखरेलले प्रस्तुत गर्नुभएको थियो । सप्ताहमा ६० लाख ५३ हजार छ सय आठ रुपैयाँ सहयोग संकलन भएको र २३ लाख ५५ हजार आठ सय ८४ रुपैयाँ खर्च भएको संयोजक पोखरेलले जानकारी गराउनुभयो । सप्ताहमा सिमेन्ट, पित्तलको घण्टी लगायतका जिन्सी सामान एक लाख ४८ हजार छ सय १० रुपैयाँ बराबरको संकलन भएको थियो । सप्ताहबाट ३६ लाख ९७ हजार सात सय २४ रुपैयाँ बचत भएको संयोजक पोखरेलले बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष रामकृष्ण थापाले सप्ताहको माध्यमबाट वडाको गरिमा बढेको तथा वडाले प्रतिकुल परिस्थितिमा समेत कार्यक्रम सफल गर्न सकेकोमा गौरवान्वित महसुस भएको बताउनुभयो । कार्यक्रममा मुल समारोह समितिका संयोजक धर्मराज पुडासैनीले सहयोगी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । सप्ताहको आयव्यय विवरण सार्वजनिक गर्ने कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला संघ–संस्थाहरु, टोल विकास संस्था, धार्मिक संस्था, वडा टोल विकास समन्वय समिति, आमा समूह, ज्येष्ठ नागरिक मञ्च, एकल महिला समूह, विद्यालय, सहकारी लगायत आजिवन सदस्य, भक्तजनको उपस्थिति रहेको थियो ।











