हेटौँडाः हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि बीआइएमको टिमले जितेको छ । आइतबार भएको फाइनल खेलमा बीसीएलाई ६६–५२ अंकले पराजित गर्दै उपाधि जितेको हो । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो ।
दोस्रो संस्करणको प्रतियोगिताको उपाधि विजेता बीआईएमले नगद १० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको बीसीएले ७ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी बीआइएमका सुभल लामा घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी पाए । हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको अध्यक्षता तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

यसअघि गत बर्ष हेटौँडा स्कूल अफ म्यानेजमेन्टले पहिलो संस्करणको बास्केटबल प्रतियोगिता हाफ कोर्टमा खेलाएको थियो । यस वर्ष भने १५ लाख रुपैयाँ लागतमा फुल कोर्ट तयार पारेर फुलकोर्टमा प्रतियोगिता आयोजना गरेको हो । यस्तै महिलातर्फ दुईवटा टिमबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो । हाफ कोर्टमा खेलाइएको खेलमा दश जोड दुई तहले स्नातक तहलाई पराजित गरेको छ । ५ मिनेटको दुई क्वार्टर खेलाइएको खेलमा दश जोड दुई तहले स्नातक तहलाई ४–१ अंकले पराजित गरेको हो । महिलातर्फ स्नातक तहकी सरिस्मा श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइन् । विज्ञान संकायको टिम उत्कृष्ट टिमको रुपमा घोषित भयो ।