Home अन्तरवार्ता “शिक्षकका मागहरुलाई सरकारले वेवास्ता गरेकाले सडक आन्दोलन”

“शिक्षकका मागहरुलाई सरकारले वेवास्ता गरेकाले सडक आन्दोलन”

गणेश हुमागाई अध्यक्ष, शिक्षक संघ मकवानपुर

नेपाल सरकारले विभिन्न क्षेत्रका व्यक्ति, संघ, संस्था वा समूहसँग विभिन्न सन्दर्भमा सम्झौता गरिरहेको हुन्छ । तर, ती सम्झौताहरुले कार्यान्वयनको अवसर पाउनेमा भने प्रशस्त आशंका व्यक्त गर्ने गरिएको छ । असोज पहिलो साता काठमाडौंको माइतीघर मण्डलामा आन्दोलित शिक्षकहरुका माग पूरा गर्न सरकारलाई बाध्य बनाएपनि यसबाट तत्काल शिक्षकहरुले लाभ हासिल हुने अवस्था नरहला । शिक्षक आन्दोलनमै सहभागी नेपाल शिक्षक महासंघ मकवापुरका अध्यक्ष गणेश हुमागाईसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः शिक्षक महासंघको आन्दोलनको शुरुवाती चरण के–कस्तो रह्यो ? अहिले के भइरहेको छ ?
हुमागाईंः
शिक्षक महासंघले सरकारसमक्ष विभिन्न मागहरु अगाडि सारेको थियो । विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने सन्दर्भमा महासंघले चरणबद्धरुपमा स्थानीय, जिल्ला र प्रदेश तहमा खबरदारी गरेको थियो । त्यसपछि सम्बन्धित निकाय तथा पक्षसँग छलफल गरेर महासंघको मागप्रति सकारात्मक रहेको र त्यसलाई पनि समावेश गर्ने भनेपछि विधेयक संसदमा प्रस्तुत भएर सार्वजनिक भयो । तर शिक्षक महासंघले उठाएका धेरैजसो मागहरु नसमेटिएको जानकारी पाएपछि महासंघले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा ग¥यो । त्यसैअनुसार देशैभरिका शिक्षकहरु काठमाडौँमा उपस्थित भएर माइतीघर मण्डलादेखि बानेश्वरसम्म लगातार ३ दिन आन्दोलन भयो । शिक्षकहरुको उपस्थिति दिनदिनै बढ्दै गयो । त्यसैक्रममा सरकारले पत्र पठाएर वार्ताका लागि आह्वान गरेको हुनाले शिक्षक महासंघले वार्ता र आन्दोलन दुवैलाई सँगसँगै अगाडि बढायो । सरकार र शिक्षक महासंघबीच असोज ५ गते वार्ता भयो । वार्तामा शिक्षक महासंघ र सरकारबीच समझदारी भएपछि महासंघले आन्दोलन रोक्यो ।

समाजः नेपाल सरकार र शिक्षक महासंघबीच भएको वार्तामा के कस्ता सहमतिहरु भयो ?
हुमागाईंः
वार्तामा शिक्षक महासंघले अगाडि सारेका मागहरुमा सरकारले सहमति जनाएको थियो । महासंघले अगाडि सारेका ५१ बुँदे माग, ३० बुँदे माग, शिक्षा विधेयकमा सच्याउनुपर्ने १८ वटा बुँदाहरुमध्ये ७ वटा बुँदाहरु सच्याउन सरकारले सहमति जनाएको छ । त्यसैगरी महासंघले उठाएको मर्यादाक्रम, सरुवा बढुवा, शिक्षकहरुको कार्यसम्पादन मुल्यांकन, अवकाश पछिका सुविधाहरु लगायतका विषयहरु शिक्षा विधेयकमा समावेश गर्न सरकार सहमत भएको छ ।

समाजः सरकारले यति धेरै मागहरुमा सहमति जनाइसकेपछि पनि शिक्षकहरु सन्तुष्ट हुन नसक्नुको कारण के हो ?
हुमागाईंः
महासंघले अगाडि सारेका सबै मागहरु सम्बोधन गर्न नसक्नु सरकारको पनि बाध्यता नै होला । सरकारले सतप्रतिशत माग सम्बोधन गरेन भनेर सधै विद्यालय बन्द गरेर आन्दोलन गर्नु पनि राम्रो होइन । त्यसकारण पनि महासंघले यत्तिको सहमतिमै आन्दोलन रोक्ने निर्णय लिएको हो । यसमा केही शिक्षक साथीहरु असन्तुष्ट हुनु स्वभाविक हो । त्यो सहमतिमा असहमत जनाउदै केही साथीहरु अहिले पनि आन्दोलनरत छन् । महासंघ र सरकारले गरेका सहमतिलाई संस्थागत गर्नुका साथै कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ । सहमति हुन बाँकी मागहरु अर्काे चरणको कार्यक्रममार्फत पूरा गर्न सकिन्छ जस्तो लाग्छ ।

समाजः यो सहमतिमा असन्तुष्टि हुँदै अहिले पनि आन्दोलनरत शिक्षकहरुको माग पूरा हुने सम्भावना कति छ ?
हुमागाईंः
आन्दोलनरत शिक्षकहरुको मागमा हाम्रो पनि समर्थन र ऐक्यबद्धता छ । सरकारले न्युनतम शैक्षिक गुणस्तरको मापदण्डलाई कायम गरेर मर्कामा परेका शिक्षकहरुको आवश्यक माग पूरा गर्नुपर्छ । आन्दोलन शिक्षकहरुको माग पूरा गर्ने नगर्ने सबै अधिकार सरकारसँग नै छ । अहिले हामीले अन्दाज भन्न सक्ने अवस्था छैन ।

समाजः संसदमा विधेयक प्रस्तुत गर्नुभन्दा अगाडि नै महासंघ र सरकारबीच यी मागहरुमाथि छलफल गरी सहमति भएको भए अहिले यो आन्दोलन गर्नुपर्ने नै थिएन होला कि ?
हुमागाईंः
शिक्षक महासंघको मागहरु सम्बोधन गर्ने भनेर महासंघ र सरकारबीच विगतमा ५१ बुँदे र ३० बुँदे सहमतिहरु भएका थिए । विगतमा सरकारले नै हस्ताक्षर गरेका सहमतिहरु सम्बोधन नगरेकोले विगतमा भएका ती सम्झौता तथा सहमतिहरुलाई सम्बोधन गरी कार्यान्वयन गर्नका लागि नै हामीले यो आन्दोलन गरेका हौँ । हामीले कुनै नयाँ मागहरु ल्याएर आन्दोलन गरेका होइनौँ । यो पनि एकैचोटी सडक आन्दोलन भएको होइन । हामीले चरणबद्धरुपमा सबै तहहरु, सम्बन्धित निकाय र पदाधिकारीहरुलार्ई जानकारी र खबरदारी गर्दा पनि हाम्रा मागहरुलाई सरकारले वेवास्ता गरेकाले यो सडक आन्दोलन भएको हो ।

समाजः आन्दोलनको क्रममा तपाईको भूमिका के रह्यो र के कस्ता समस्याहरु आइपर्यो ?
हुमागाईंः
शिक्षक महासंघले गरेको यो आन्दोलन शान्तिपूर्ण थियो । महासंघको निर्देशन अनुसार निषेधित घेरा नतोड्ने, कुनै बलजफती नगर्ने, उग्र नाराहरु नलगाउने, शिक्षकको अधिकारको विषय मात्र उठाउने भनेका थियौं । आन्दोलनको क्रममा सामान्य समस्या बाहेक केही समस्या आइपरेन । त्यसैअनुसार नै ३ दिनसम्म नै आन्दोलन व्यवस्थितरुपमा चलेको थियो । हामी शिक्षकहरुको तर्फबाट त्यस्तो उग्र र अभद्र कार्यहरु भएन । र सुरक्षामा खटेका प्रहरीहरुले पनि अभद्र व्यवहार गरेनन् । समग्रमा आन्दोलन शालिन, शान्तिपूर्ण र भद्र भयो ।

Exit mobile version