पुरस्कार वितरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) हेटौँडा उपमहानगर समितिको आयोजनामा विद्यालयका शिक्षक, कर्मचारीबीच नगरस्तरीय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगितामा बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका शिक्षक कृष्ण थापा प्रथम हुनुभएको छ । शनिबार हेटौँडा–५ स्थित जीएस निकेतन माविमा भएको प्रतियोेगितामा प्रथम स्थान हासिल गर्नुहुँदै थापाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रतियोगितामा सिद्धार्थ शिशु सदन माविका भरतमोहन देवकोटा द्वितीय, जीएस निकेतन माविका किसन घिसिङ तृतीय, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका श्यामकृष्ण ज्ञवाली र बालजागृति युवा वर्ष माविका दिवस दुलाल सान्त्वना हुनुभयो । द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगितामा सहभागी ज्येष्ठ खेलाडी भुटनदेवी माविका सूर्य प्रसाद घिमिरे, उत्कृष्ट महिला खेलाडी लिला देवी तिम्सिनालाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम इस्टु हेटौँडा उपमहानगर समितिका अध्यक्ष नवीन मिश्रको अध्यक्षता तथा इस्टुको राष्ट्रिय समितिका उपाध्यक्ष दीपक गौतमको प्रमुख आतिथ्यमा भएको हो । प्रतियोगितामा १५ वटा विद्यालयबाट शिक्षक र कर्मचारी गरी २१ जनाको सहभागिता रहेको थियो ।