हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा १ सय ३ जना थुनुवा रहेका छन् । प्रहरीको हिरासतमा ९० जना थुनुवा राख्ने क्षमता भए पनि अहिले १ सय ३ जना थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जनाकारी दिनुभयो ।

डीएसपी भण्डारीकाअनुसार प्रहरी हिरासतमा थुनुवाको संख्या घट्ने–बढ्ने भइरहन्छ । हिरासतमा रहेकामध्ये लागुऔषधको मुद्दामा पक्राउ परेका अभियुक्त धेरै रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा अहिले ४० वटा मुद्दा लागुऔषधसम्बन्धी रहेको छ । लागुऔषधको मुद्दामा ८० जना थुनुवा रहेका छन् । लागुऔषधको मुद्दामा प्रहरीले ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ भने अन्य मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने व्यवस्था रहेको छ । लागुऔषधको परीक्षण, अनुसन्धानको प्रक्रिया लामो हुने भएकोले लागुऔषधको मुद्दाका मानिस धेरै हिरासतमा रहने गर्छ । पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गर्ने क्रम बढेको छ ।

यस्तै जबर्जस्तीकरणीको मुद्दामा एकजना प्रहरी हिरासतमा रहेको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा ३ जना, मुद्रासम्बन्धी कसुुरमा एकजना, सवारी ज्यान मुद्दामा एकजना, बाल यौनदूव्र्यवहारसम्बन्धी मुद्दामा २ जना, चोरी–डाँका मुद्दामा २ जना, बैंकिङ कसुरसम्बन्धी मुद्दामा एकजना मानिस प्रहरीको हिरासतमा रहेका छन् ।