हेटौँडाः हेटौँडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमणको घटनामा नेपाल मानवअधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयले ध्यानाकर्षण भएको र दोषीलाई कारवाहीको दायरामा ल्याउन र स्वास्थ्य सेवालाई सुरक्षित राख्न आग्रह गरेको छ ।
आयोगको हेटौँडास्थित प्रादेशिक कार्यालयले स्थानीय प्रशासन र प्रहरीसँग घटनाबारे जानकारी माग गर्दै दोषीलाई कारवाही गर्न भनेको छ । हेटौँडास्थित आयोगको प्रादेशिक कार्यालयकी निमित्त प्रमुख रेवा रेग्मीका अनुसार भदौ ३१ गते स्थानीय प्रशासन र प्रहरी कार्यालयलाई पत्र लेखी घटनाबारे जानकारी माग गरेको थियो । आयोगको मागअनुसार प्रहरीले शुक्रबार आयोगलाई ६ जना पक्राउ परेको र पक्राउ पुर्जी जारी भएका अन्य व्यक्तिको खोजी कार्य जारी रहेको जानकारी प्राप्त भएको आयोगकी निमित्त प्रमुख रेग्मीले बताउनुभयो । सोमबार स्थानीय प्रशासन र प्रहरीसँग घटनाबारे थप बुझ्ने उहाँको भनाइ छ ।
चिकित्सकमाथि भएको सांघातिक आक्रमणको विषयमा आयोगको ध्यान केन्द्रित भएको र चिकित्सकमाथि आक्रमण सामान्य विषय नभएको पनि रेग्मीको भनाइ छ । दोषीलाई छिटोभन्दा छिटो कारवाही गर्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन आयोगले आवश्यक पहल गर्नेमा पनि उहाँले जोड दिनुभएको छ । गत भदौ २७ गते बिहान ११ बजेको समयमा सञ्चो अस्पतालमा विरामीको उपचार गरिरहेका डा. विकास थापा र डा. प्रशान्त विडारीलाई एक समूहले अस्पतालको एचडीयु वार्डमै सांघातिक आक्रमण गरेका थिए । राजनीतिक आडमा स्थानीय प्रशासन र प्रहरीले दोषीमाथि कारवाही गर्न आनाकानी गरिरहेको पीडित पक्षको आरोप छ । सांघातिक आक्रमणमा पीडित डा. विकास थापाले हेटौँडा छाडिसक्नुभएको छ ।











