हेटौंडाः बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा हेटौंडामा संविधान दिवसको मूल समारोह भएको छ । बुधबार बिहान प्रभातफेरी तथा सभा गर्दै संविधान दिवस मनाइएको हो ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय परिसरमा पुगेर समापन गरिएको थियो । मुख्यमन्त्री कार्यालयमा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेशअन्तर्गत्का मन्त्रालयका कर्मचारी, सहकारी तथा अन्य संघसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले जनताहरुले धेरै संघर्ष गरेर, धेरै कुराहरुलाई त्यागेर, आफ्नो बलिदान दिएर जननिर्वाचित प्रतिनिधिद्वारा संविधान निर्माण भएको ऐतिहासिक दिन असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरेको बताउनुभयो । संविधानमा जनताबाट निर्वाचित भएका व्यक्तिहरुले नयाँ ऐन निर्माण गरेको बताउनुभयो ।
संविधानप्रति सबैको माया हुनुपर्ने कुरालाई उहाँले औंल्याउनुभयो । सबै व्यक्तिले कानुनको पालना र रक्षा गर्नुपर्ने, कानुनी कुरामा अटल रहनुपर्ने उहाँले बताउनुभयो । संविधानले सुखद् समाजको सकारात्मक पक्षको विकास गरेको र यसबाट एउटा दिगो नेपाल निर्माण भएको जम्कट्टेलको भनाइ छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सबै व्यक्तिहरुको मौलिक अधिकारमा समेटिएको कुरालाई कानुन उत्पादन गर्ने कार्यमा लाग्न नसक्दा नेपाली जनताहरुको चाहना पूरा हुन नसकेको बताउनु भयो । नेपाली जनताको आवश्यकता पूरा गर्न, आर्थिक वृद्धि हासिल गर्न, स्थानीय तह र प्रदेशलाई संघीय सरकारसँगै अगाडि बढाउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।