मेलामा हातले बनाइदैको तस्वीर ।

हेटौंडाः हेटौंडामा दुई दिने प्रथम हस्तकला प्रवद्र्धन मेला सुरु भएको छ । मेला हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन भएको हो ।

संविधान दिवसको अवसर पारेर बागमती प्रदेश हस्तकला संघ र प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रबद्र्धनमा मेला आयोजना गरेको प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्यले जानकारी दिनुभयो । कार्यक्रम बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले रिबन काटेर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

मेलामा हातले बनाइएको नेवारी समुदायको बाजा, ढुङ्गाको मूर्ति, तामाको मूर्ति, चित्रकला, कपडा, ढाकाटोपी, बज्र, बाँसुरी, पोते, माटोको भाडालगायतका स्थानीयस्तरमा उत्पादित सामग्रीहरु राखिएको छ ।मेलामा १५ व्यवसायीको २० स्टल रहेका छन् । मकवानपुरको ४ वटा, चितवनको २ वटा, भक्तपुरको ३ वटा, काठमाडौंको ३ वटा र ललितपुरको ८ वटा स्टल रहेको अध्यक्ष शाक्यले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति रहेको थियो ।

काठमाडौंका बाजा व्यवसायी बज्रबहादुर शिल्पकारले स्थानीयस्तरमा उत्पादित सामग्रीहरुको संरक्षणका लागि प्रदेशलगायत कुनै पनि सरकारले सहयोग नगरेको बताउनुभयो । यस्ता सामग्री बनाउने पेसामा सानै उमेरदेखि लागेको भए पनि जीवनस्तर चलाउन गाह्रो नै रहेको उहाँले बताउनुभयो । कुनै ठाउँबाट अर्डर आएको खण्डमा सामग्री बनाएर बेच्ने गरेको उहाँको भनाइ छ । यसैगरी ललितपुरकी पुँ बुन्ने व्यवसायी प्रेममाया महर्जनले पुँ बुन्ने पेसा गरेको ५० वर्ष भइसकेको बताउनुभयो ।