सम्मानका क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा उत्कृष्ट नतिजा प्राप्त गर्ने बागमती प्रदेशका ८ विद्यालय सम्मानित भएका छन् । शिक्षा दिवसको अवसरमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गर्ने संस्थागत ३ र सामुदायिक ५ वटा गरी ८ विद्यालयलाई सम्मान गरेको हो ।

सामाजिक विकास मन्त्रालयले कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुने सामुदायिक विद्यालयमा प्रथम भक्तपुुर नगरपालिका–३, तेखापुखुमा रहेको मेघा माध्यमिक विद्यालय (३.७० जीपीए) ल्याएको थियो । जसले एक लाख रुपैयाँ नगदसहित सम्मानित भएको छ । उक्त विद्यालयमा कक्षा १० मा ९० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
यस्तै, नुवाकोटको विदुर नगरपालिकाको पृथ्वी माध्यमिक विद्यालय (३.३४ जीपीए) द्वितीय, काठमाडौंको श्रम राष्ट्रिय माध्यमिक विद्यालय (३.३१ जीपीए) तृतीय, तारकेश्वर नगरपालिका काठमाडौंको पृथ्वीनारायाण माध्यमिक विद्यालय (३.३१ जीपीए) चौथो र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको बलम्बु माध्यमिक विद्यालय (३.२४ जीपीए) पाँचौँ भएको छ । विद्यालयलाई क्रमशः ८० हजार, ६० हजार, ४० हजार र ३० हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

संस्थागत विद्यालयतर्फ बुढानिलकण्ठ काठमाडौंको रिलायन्स इन्टरनेशनल एकेडेमी (३.७६ जीपीए) प्रथम, बालुवाटारको हिज किड्स इन्टरनेशनल एकेडेमी (३.७० जीपीए) द्वितीय र काडमाडौंकै फ्लोरोसेन्ट माध्यमिक विद्यालय (३.७० जीपीए) तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख, ८० हजार र ६० हजार नगदसहित सम्मानपत्र प्राप्त गरेका हुन् ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदेशले आयोजना गरेको खुला निबन्ध प्रतियोगितामा उत्कृष्ट ३ जनालाई पुरस्कृत गरिएको छ । निबन्ध प्रतियोगितामा १९२ जनाले निबन्ध लेखेकोमा ३ जनालाई पुरस्कृत गरिएको हो ।

निबन्ध प्रतियोगितामा स्याउसी भुमे माध्यमिक विद्यालय नुवाकोटकी सुमना बुढाथोकी प्रथम, सिन्धुलीको कमला माध्यमिक विद्यालयकी पवित्रा सापकोटा द्वितीय र काठमाडौंको श्रीमंगल माध्यमिक विद्यालयका मदन बल तृतीय भएका छन् । निबन्धमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।