सञ्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने समुह । फाइल तस्बीर

हेटौंडाः चिकित्सक कुटपिट संलग्न भएको आरोपमा पक्राउ परेकालाई ५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । घटनामा संलग्न अन्य केही व्यक्तिको नाममा पक्राउ पुर्जी जारी भएको छ । आइतबार जिल्ला अदालत मकवानपुरले पक्राउ परेकालाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ भने केही व्यक्तिको नाममा पक्राउ पुर्जीसमेत जारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

बुधबार बिहान हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त बिडारीमाथि सांघातिक आक्रमण भएको थियो । प्रहरीले घटनामा संलग्न रहेका हेटौंडा–१२ की रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई बिहीबार नै पक्राउ गरेको थियो ।

करिब एक महिनाअघि उक्त अस्पतालमा उपचार गराउन आएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई दोस्रो पटक डेंगु पुष्टि भएर अवस्था जटिल बनेपछि भोलिपल्टै अस्पतालले रिफर गरेको थियो । उपचारका लागि चितवन मेडिकल कलेज पु¥याइएको प्रधानको पर्सीपल्ट मृत्यु भएको थियो । बुधबार मृतक प्रधानकै आफन्तसहितको समूहले अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै डाक्टरहरुलाई कुटपिट गरेको हो ।

यता हेटौंडा अस्पतालका चिकित्सकहरुले शुक्रबार नै सामूहिक राजीनामा दिएका छन् । डाक्टरहरुले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै अस्पतालका आकस्मिकबाहेक अन्य सेवा बन्द गरी सामूहिक राजीनामा दिएका हुन । उक्त घटनालाई लिएर नेपाल चिकित्सक संघले देशभरि नै आइतबार ओपीडी सेवा बन्द गरेर आन्दोलन गरेको छ । मकवानपुरमा भने बिहीबारदेखि नै ओपीडी सेवा प्रभावित बनेको छ । सरकारले घटनामा संलग्नलाई कारबाही नगरेको भन्दै बिरोध प्रदर्शन गर्दै आएको छ ।