Home मुख्य समाचार ज्योति माविका शिक्षक, कर्मचारीको बीमा

ज्योति माविका शिक्षक, कर्मचारीको बीमा

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित ज्योति माविले निजीश्रोतमा कार्यरत अंग्रेजी माध्यमतर्फक शिक्षक तथा कर्मचारीको जीवन बीमा गरिदिएको छ ।

विद्यालयले १६ जना शिक्षक, कर्मचारीको विद्यालयकै आयस्रोतमा प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको शुभारम्भ जीवन वीमा, दुर्घटना, पुर्ण अंगभंगसहित ६ वटा अतिरिक्त सुबिधासहितको जीवन बीमा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिमा बीमा गरिएको हो । शिक्षक, कर्मचारीको बीमाका लागि विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले ५५ हजार पाँच सय ५५ रुपैयाँ र अङ्ग्रेजी माध्यमका संयोजक आशिष चौलागाईले ३३ हजार तीन सय ३३ रुपैयाँ योगदान गर्नुभएको थियो ।

बीमा कम्पनिका क्षेत्रीय प्रमुख शिवकुमार कार्की, राजेश आचार्य र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, सदस्य बिमला बिसुन्खे, प्रधानाध्यापक जयराम थापा एवम् सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईं र अंग्रेजी माध्यम संयोजक आशिष चौलागाईंको सहभागितामा बीमालेख हस्तान्तरण कार्य भएको थियो । २०२४ सालमा स्थापना भएको विद्यालयमा १२ कक्षासम्म पठनपाठन भइरहेको छ । बीमा कार्यक्रमले शिक्षक, कर्मचारीको मनोवल बढ्ने र त्यसले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको भनाइ छ ।

Exit mobile version