हेटौंडाः नेपाल तेक्वान्दो संघको आयोजनामा ललितपुरको सातदोबाटोमा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तेक्वान्दो प्रतियोगिता भदौ २७ देखि ३१ गतेसम्म हुने मकवानपुर जिल्ला खेलकुद विकास समिति सचिव बिक्रम लामिछानेले जानकारी दिनुभयो ।
११ औं कोरियन एम्बास्डर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मकवानपुरले मंगलबार १४ जना खेलाडी काठमाडौं पठाएको छ । मकवानपुर जिल्लाबाट विभिन्न डोजाङ्गका पुम्सेमा र ग्योरोगीमा ५ पुरुष र ९ महिला सहभागी हुने भएका छन् । खेलाडीसँगै मकवानपुर तेक्वान्दोका टोली कोच बिमल बीके खेलाडीको हौसला बढाउन जानुभएको छ । साथै, निरनायक निरुकुमारी मगर र शिवहरि राई पनि जानुभएको लामिछानेले बताउनुभयो ।
मंगलबार मकवानपुरबाट खेलाडी जानुअघि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खडकी, कार्यालय प्रमुख मदन कोइराला, सचिव बिक्रम लामिछाने तथा अन्य संघको सदस्यबाट खेलाडी र प्रशिक्षकहरुलाई बिदाई गरिएको लामिछानेले बताउनुभयो । प्रतियोगितामा अन्य अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडीको सहभागिता रहनेछ ।
