हेटौंडाः हेटौंडा बजार क्षेत्रको सडक विस्तारका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराइएको छ । मंगलबार मकवानपुरबाट प्रतिनिधिसभाका सांसद, प्रदेश सभा सदस्य र व्यवसायीहरुको संयुक्त टोलीले प्रधानमन्त्री दाहालसँग सडक विस्तारबारे छलफल गरी ध्यानाकर्षणपत्र बुझाएको हो ।
छलफलमा प्रधानमन्त्री दाहाललाई हेटौंडाको सडक विस्तारको अवस्थाबारे जानकारी गराएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताउनुभयो । जनता, व्यवसायी कसैलाई अप्ठ्यारो नपर्नेगरी र सडक बन्ने गरी छलफल टुङ्गिएको उहाँले बताउनुभयो । छलफलमा प्रधानमन्त्री दाहालले हेटौंडाको सडक विस्तारको समस्यालाई सम्बन्धित मन्त्री, मुख्यमन्त्री, स्थानीय सरकार र पीडित पक्षसँग सहमति गरेर छिट्टै टुङ्याउने आश्वासन दिनुभएको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री दाहालले हेटौंडाको सडक विस्तारमा पहिलादेखि नै आफू जानकार रहेको बताउनुभयो’, अग्रवालले भन्नुभयो, ‘यसअघि पनि आफूले व्यवसायीहरुले उचित मुआब्जा नपाएसम्म सडक विस्तार गर्न रोक लगाएको उहाँले स्मरण गर्नुभयो ।’
भेटमा राप्ती पुलदेखि रातोमाटेसम्म मुआब्जा नपाएका घरधनीहरुलाई तत्काल मुआब्जा दिएर सडक विस्तार सुरु गर्न भनिएको अध्यक्ष अग्रवालले बताउनुभयो । सरकारको कानुन अनुसार पाउनुपर्ने क्षतिपूर्ति पाउन माग गरिएको र यत्ति नै पाउनुपर्छ भन्ने आफूहरुले कुनै अडान नलिएको उहाँले बताउनुभयो । यसअघि सडक विभागले बिनाआधार र बिनातथ्यांक सूूचना निकालेको उहाँले आरोप लगाउनुभयो ।
मकवानपुरका प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बर्तौला, दीपकबहादुर सिंह, विन्ध्यवासिनी कंशाकार, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण कुटवाललगायतले प्रधानमन्त्रीसँग सडक विस्तारबारे छलफल गरेको हो ।











