स्वास्थ्य सुविधा मानिसको आधारभूत अधिकार हो । नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा लिएको छ । प्राथमिक स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने सरकारी नीति पनि छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारको स्वास्थ्य विभागले विभिन्न रोगहरुको उपचार सेवा र सचेतनाका लागि हरेक वर्ष ठूलो धनराशि खर्च गर्दै आएको छ । तर, दुर्गम र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा तथा सुविधा नागरिकसम्म पुग्न सकेको छैन । सेवा–सुविधाका साथै समयानुकूल स्वास्थ्य उपचार ग्रामीण भेगमा कमजोर हुँदै जाँदा नेपालीहरुको बसाइँसराइ शहर केन्द्रित भएको छ । शहरी क्षेत्रमा बढ्दो जनसंख्याका कारण रोगव्याधि पनि बढेकाले स्वास्थ्य सेवा प्रवाह सहज हुन सकिरहेको छैन । देशमा संघीय शासन प्रणाली लागू भएपछि स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय तहमा पनि आएको छ । संघीय तथा प्रदेश सरकारसँगै स्थानीय सरकारको पनि आफ्ना नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्ने दायित्व बनेको छ ।

ग्रामीण भेगमा स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भइरहेको अवस्थामा मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने स्वास्थ्य उपचार सेवा दिने प्रयास गरिरहेको छ । गाउँपालिकाले आधारभूत अस्पताल निर्माणसँगै डाक्टरको व्यवस्थापन गरेर स्वास्थ्य उपचार गराउने प्रयास गरिरहेको पाइन्छ । यसै प्रयासस्वरुप गाउँपालिकाले केही दिनअघि नियुक्त गरेका डाक्टरबाट स्वास्थ्य परीक्षण कार्य सुरु भएको छ । झण्डै एक वर्षपछि राक्सिराङ गाउँपालिकाको आधारभूत अस्पतालमा डा. गजल पन्तले सोमबारबाट सेवा सुरु गरेकी हुन् । यसअघि पनि दुई जना डाक्टरले गाउँपालिकाबाटै स्वास्थ्य सेवा प्रदान गरिसकेका छन् । संघीय सरकारले दिने मेडिकल अधिकृतको सुविधा बराबर नै तलब भत्ता दिने गरी गाउँपालिकाले डाक्टर नियुक्त गरेको छ । यसअघि पनि गाउँपालिकाले सोही सेवा सुविधा दिएर डाक्टरलाई गाउँमै राखेर उपचार सेवा दिएको थियो ।

गाउँपालिकामा डाक्टर नियुक्त गरेर स्वास्थ्य उपचार सेवा प्रदान गरेसँगै गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रम र स्वास्थ्य बस सेवा सञ्चालनलाई पनि प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षका लागि ती कार्यक्रमलाई महत्वपूर्ण कार्यक्रमको रुपमा कार्यान्वयन गर्न लागेको हो । गाउँपालिकाले स्वास्थ्य सेवा प्रवद्र्धनका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही बजेटबाट चालु आर्थिक वर्षमा ५ सय परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गराउने गाउँपालिकाको लक्ष्य छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले स्वास्थ्य बस सञ्चालन गर्ने योजना अघि सारेको छ । स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षण गर्न उनीहरुको घरदैलोबाट गाउँपालिकाको आधारभूत अस्पतालसम्म ल्याउने र उपचारपछि घरदैलोमै पुर्याउने गरी स्वास्थ्य बस सञ्चालनको तयारी गरिएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य संस्थामा प्रसुती सेवा लिनेलाई ३ दिनसम्म निःशुल्क खाना खुवाउन बजेटको व्यवस्थासमेत गरेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्र्धन गरी सबै नागरिकसम्म सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहको पहुँच पुर्याउन नसकिएको यथार्थ हो । आम नागरिकले अपेक्षा गरेअनुरुप गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र एकरुपता कायम गर्न सरकार प्रतिबद्ध बन्नुपर्छ । स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकारको भूमिका थप महत्वपूर्ण हुँदै गएको छ । स्वास्थ्यका सबै क्षेत्रमा नागरिकको समतामूलक पहुँच स्थापना गदै निःशुल्क गुणस्तरीय आधारभूत स्वास्थ्य सेवालाई सबै स्थानीय तहबाट उपलब्ध गराउनु आवश्यक छ । राज्यको स्वास्थ्य नीतिले पनि गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउनु राज्यको दायित्व हुने कुरालाई स्वीकार गरेको छ । ग्रामीण भेगका नागरिकलाई कम्तिमा आफ्नै स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सबै स्थानीय तह अग्रसर बन्नैपर्छ । यसका लागि संघ तथा प्रदेश सरकारले आवश्यक सहयोग र समन्वय गर्नु आवश्यक छ ।