हेटौँडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–१, सानुटारस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आमा भेला आयोजना गरेको छ । गत शुक्रबार आयोजना गरिएको भेलामा आमा, शिक्षक र विद्यार्थीलाई सम्मान समेत गरिएको छ ।
भेलामा सबैभन्दा पहिले उपस्थित हुने आमा, २०७९ को एसईईमा उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षक, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिएको छ । उत्कृष्ट नतिजा ल्याउन सहयोग गरेको भन्दै सामाजिक विषयका शिक्षक जुलुमदेवी बलामीलाई सम्मानपत्रले सम्मानित गरिएको छ । यस्तै २०७९ को एसईईमा उत्तीर्ण भएका २६ जना विद्यार्थी, एसईईमा विषयगत रुपमा उत्कृष्ट स्थान नतिजा ल्याउन सफल २ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । सामाजिक विषयमा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई शिक्षक बलामीले ५/५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
विद्यालयले बी प्लास ल्याउने ३ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ भने कक्षा १ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । सोही अवसरमा कक्षा १ देखि ८ सम्मका छात्रालाई छात्रवृत्ति र कक्षा १ देखि १० सम्मका सिमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थिङको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा आमा भेला भएको हो ।
विद्यालयको प्रगति विवरण प्रधानाध्यापक मानबहादुर घलानले प्रस्तुत गर्नुभयो । विद्यालयको शैक्षिक गतिविधिबारे विद्यालयका सहायक प्रधानाध्यापक भीम कुमारी पाख्रिनले जानकारी दिनुभयो । भेलामा १ सय ५६ जना आमा तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जिव श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जन, १ नम्बर वडा अध्यक्ष सोम बहादुर स्याङ्तान, पालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली लगायतको आतिथ्य रहेको थियो ।