विद्यार्थी र अभिभावकलाई एक साथ पुरस्कार र सम्मान गरिँदै ।

हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविका विद्यार्थी पुरस्कृत भएका छन् भने अभिभावक सम्मानित भएका छन् । शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान गरिएको हो भने विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने अभिभावकलाई खादा लगाएर सम्मान गरिएको छ । विद्यालयसँगै घरमा पनि उपयुक्त वातावरण आवश्यक रहने र त्यसका लागि अभिभावकलाई जिम्मेवार बनाउन उनीहरुलाई पनि सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभएको छ ।

शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । शैक्षिक सत्र २०७९ मा अनुशासित विद्यार्थी कक्षा–६ की स्नेहा यादव र नियमित विद्यार्थी कक्षा–१० का रजित गोपालीलाई पनि विद्यालयले पुरस्कृत गरेको छ । यसैबीच विद्यालयले चालु शैक्षिक सत्रको प्रथम त्रैमासिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । विद्यालयले विद्यार्थीको उत्तरपुस्तिकासहित अभिभावकलाई नतीजा वितरण गरेको छ । प्रथम त्रैमासिक परीक्षामा कक्षागत प्रथम विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावक ।

प्रथम त्रैमासिकमा नर्सरीमा योकसा रोक्का, प्रेमिसा बिश्वकर्मा र आरुषी बुढा उत्कृष्ट भएका छन् । केजीमा आशीषराज यादव, अंग्रेजी माध्यम १ कक्षामा पिंकीकुमारी साह, २ कक्षामा राजु लेहरा, ५ कक्षामा आरोही यादव, ६ कक्षामा विकास गुप्ता प्रथम भएका छन् भने नेपाली माध्यम १ कक्षामा अरमान मोहम्मद, २ कक्षामा विक्की यादव, ३ कक्षामा आइसा खातुन, ४ कक्षामा दिवस बुढा, ५ कक्षामा ज्यास्मिन खातुन, ६ कक्षामा सफिना खातुन, ७ कक्षामा आर्यन चौरसिया, ८ कक्षामा अनिक गुप्ता, ९ कक्षामा प्रगति माली र १० कक्षामा आलोककुमार राम प्रथम भएका छन् ।

छात्रवृत्ति रकम वितरण गरिँदै ।

१० कक्षासम्म पठनपाठन हुने श्रमिक माविमा ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले शुक्रबार नै छात्रवृत्ति रकम पनि वितरण गरेको छ । १ सय ५५ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरिएको हो ।