Home मुख्य समाचार मृतकका परिवारलाई मन्त्रीले भेटे

मृतकका परिवारलाई मन्त्रीले भेटे

सिन्धुलीः सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१, ककरेका पहिरो प्रभावित परिवारलाई बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले भेट्नु भएको छ ।

आइतबार पीडित परिवारलाई भेटेर केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र नेपाल सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरी जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।

यही साउन २२ गते राती मकवानपुर जिल्लाको बागमती गाउँपालिका–५, सिक्रे दोभानको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् । पहिरोमा परी गत मंगलबार बिहान आएको पहिरोमा परी ५५ वर्षीया सन्तमाया स्याङ्तान, ६० वर्षीय अक्कल बहादुर स्याङ्तान, २३ वर्षीया शीला स्याङ्तान र ७ महिने शिशु दिव्या पहरीको मृत्यु भएको थियो । २६ वर्षीय जीवन पहरी र ३ वर्षे देव पहरी अझै बेपत्ता छन् । यस्तै पहिरोमा परी १७ वर्षीय पासाङ घिसिङ घाइते भएका छन् । घिसिङको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री श्रेष्ठले आइतबार परिवारलाई भेटी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । काजकिरियाका लागि मृतकका परिवारलाई उहाँले व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र उद्योग वाणिज्य संघ सिन्धुलीले ४४ हजार रुपैयाँ बराबरको खाद्य र गैरखाद्य सामग्री सहयोग उपलब्ध गराएको छ ।

Exit mobile version