Home खेलकुद यु–१६ राष्ट्रिय फुटबल टिममा मकवानपुरको उपस्थिति शून्य

यु–१६ राष्ट्रिय फुटबल टिममा मकवानपुरको उपस्थिति शून्य

प्रदेशस्तरीय छनोटमा सफल १२ खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्ला खेलकुद विकास समितिले बुट हस्तान्तरण गरेपछि खिचिएको तस्वीर । फाइल तस्वीर ।

हेटौँडाः १६ वर्ष उमेर समूहको राष्ट्रिय फुटबल टिममा मकवानपुरको उपस्थिति शून्य हुने भएको छ । राष्ट्रिय टिम तयार पार्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरबाट छनोट गर्ने क्रममा ३२ सदस्यीय सूचिमा आइपुग्दा मकवानपुरको उपस्थिति शून्य भएको हो ।

यसअघि ५८ जनाको सूचिमा मकवानपुरका एरोन गुरुङ अटाएका थिए । शुक्रबार एन्फाले सार्वजनिक गरेको ३२ जनाको सूचिमा एरोन अटाउन सकेनन् । ३२ जनाको सूचि सार्वजनिक हुने क्रममा मकवानपुरको उपस्थिति शून्य भएको हो । एन्फाले ३२ जनालाई बन्द प्रशिक्षणमा राखेर राष्ट्रिय टिमको अन्तिम सूचि तयार पार्नेछ ।

मकवानपुर जिल्लाबाट प्रदेशस्तरीय छनोटमा सहभागी हुन जिल्लाबाट २७ जना छानिएका थिए । जिल्लामा छनोटमा एक सय ९२ जना किशोर खेलाडी सहभागी थिए । जिल्लाबाट सहभागी २७ जनामध्ये प्रदेशस्तरीय छनोटबा १२ जना राष्ट्रियस्तरको छनोटमा सहभागी भएका थिए । मकवानपुरबाट एरोन गुरुङ, रवि थिङ, पवन दर्लामी, विकल राना मगर, लिसन गुरुङ, रिजन जिसी, असन प्रजा, प्रमित खत्री, उप्रान्त आले, रोशन गोले, प्रनिष भण्डारी र अमित स्याङ्तान प्रदेशस्तरीय छनोट पार गरी राष्ट्रिय छनोटमा सहभागी भएका थिए ।

उमेर समूहको राष्ट्रिय टिममा सहभागिताले भविष्यमा सिनियर राष्ट्रिय टिममा जिल्लाको प्रतिनिधित्व गर्ने आधार तय हुने भएकोले चासोका साथ हेरिएको थियो । अहिले राष्ट्रिय टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा मकवानपुरबाट ६ जना सहभागी छन् । राष्ट्रिय टिममा नियमितरुपमा ३ देखि ५ जना खेलाडी समावेश गराउँदै आएको मकवानपुर जिल्लाले उमेर समूहमा राष्ट्रिय टिममा आफ्नो उपस्थिति सावित गर्न नसक्नु चनौतिको विषय समेत हो ।

१६ वर्ष उमेर समूहमा ए डिभिजन क्लबले समेत टिम तयार पारेकोले मकवानपुरका खेलाडीको उपस्थितिमा कठिनाइ भएको मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीको भनाइ छ । एन्फाले अहिले तयार पारेको यु–१६ राष्ट्रिय टिमले दक्षिण एसियाली यु–१६ फुटबल प्रतियोगितामा सहभागिता जनाउने छ । यु–१६ फुटबल प्रतियोगिता आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुँदैछ ।

Exit mobile version