Home मुख्य समाचार ईन्द्रसरोवरमा वडाको पहलमा घरघरमा स्वास्थ्य परीक्षण

ईन्द्रसरोवरमा वडाको पहलमा घरघरमा स्वास्थ्य परीक्षण

गाउँघर क्लिनिक कार्यक्रमअन्तर्गत वडावासीको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

हेटौँडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको २ नम्बर वडाको पहलमा घरघरमा पुगेर स्वास्थ्य परीक्षण कार्य सुरु गरेको छ । वडामा रहेको स्वास्थ्य केन्द्रको पहुँचमा नरहेका क्षेत्रमा घरघरमै पुगेर स्वास्थ्य आभारभूत स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको वडा अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभएको छ ।

स्वास्थ्य चौकीको पहुँचमा नरहेका वडाको भालुखर्क, सुलिकोट, सुकौरा र छापखोरियामा हरेक महिनाको एक पटक स्वास्थ्य परीक्षण गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । शनिबार छापखोरियामा स्वास्थ्य परीक्षण गरिएको छ । वडामा रहेको स्वास्थ्य चौकीका अहेब, अनमीले घरदैलोमै पुगेर वडावासीको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यकताअनुसार थप उपचारका लागि पालिकामै रहेको स्वास्थ्य चौकी तथा थप उपचारका लागि पठाउने व्यवस्था पनि मिलाउने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अहिले मधुमेह र रक्तचापको अवस्था मापन गर्नुका साथै वडावासीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उहाँले बताउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठले शिक्षा, स्वास्थ्य र वडावासीको आयआर्जनमा ध्यान दिएर काम गरिरहेको बताउनुभएको छ । वडालाई आत्मनिर्भर बनाउन, बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवामा सहजता होस् भनेर काम गरिरहेको उहाँले बताउनुभयो । अहिलेको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यले वडावासीमा आत्मविश्वास बढाउने वडा अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभएको छ । कसैको स्वास्थ्यमा जटिल समस्या हुन सक्ने अवस्था रहेछ भने तुरुन्तै थप उपचार गराउन पनि सकिने उहाँको भनाइ छ ।

Exit mobile version