Home मुख्य समाचार हेटौंडा उपमहानगरमा छैन निजी विद्यालयका विद्यार्थीको यकिन तथ्यांकः स्थानीय सरकार गैरजिम्मेवार बनेको...

हेटौंडा उपमहानगरमा छैन निजी विद्यालयका विद्यार्थीको यकिन तथ्यांकः स्थानीय सरकार गैरजिम्मेवार बनेको आरोप

फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा निजी विद्यालयमा अध्ययनरत् विद्यार्थीको यकिन तथ्यांक छैन । विगत वर्षहरुबाट नै निजी विद्यालयमा अध्ययनरत् विद्यार्थीको यकिन तथ्यांक उपमहानगरले राख्ने नगरेको पाइएको हो । शैक्षिकसत्र २०७७ देखि चालु शैक्षिकसत्र २०८० सम्म निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको विवरण हेर्दा यकिन तथ्यांक नभएको पाइएको हो ।

हेटौँडा उपमहानगरपालिकाभित्र ४८ वटा संस्थागत विद्यालय रहेका छन् । जसमा केही विद्यालयले विद्यार्थी विवरण बुझाएका छैनन् । सामुदायिक विद्यालयहरुले भने सबैले विवरण बुझाएका छन् । २०७७ सालमा ३९ वटा संस्थागत विद्यालयले मात्र विद्यार्थीको तथ्यांक बुझाएको पाइएको छ । सो वर्ष ९ वटा विद्यालयले विद्यार्थी विवरण नै बुझाएका थिएनन् । यस्तै, २०७८ मा ४१ वटा विद्यालयले विवरण बुझाएका थिए । सो वर्ष ७ वटा विद्यालयले विवरण नबुझाएको हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । गत वर्ष २०७९ मा पनि ३९ वटा संस्थागत विद्यालयले मात्र विद्यार्थी विवरण बुझाएका थिए । यस वर्ष पनि विद्यार्थी विवरण बुझाउने समयसीमा सकिसक्दा ३० वटा विद्यालयले मात्र विद्यार्थी विवरण बुझाएको पाइएको छ ।

२०७७ सालको तथ्यांकअनुसार ३९ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या २१ हजार ४ सय २८ थियो । कक्षा १२ सम्म ९ हजार एक सय ८० छात्रा र १२ हजार २ सय ४८ छात्र अध्ययनरत थिए । उक्त वर्ष ९ वटा विद्यालयले विद्यार्थी भर्ना विवरण बुझाएको थिएन । २०७८ सालमा ४१ वटा विद्यालयमा ८ हजार ४ सय ७४ छात्रा र ११ हजार ४ सय ९ छात्र गरी १९ हजार ८ सय ८३ विद्यार्थी देखिन्छ । २०७८ सालमा ७ वटा विद्यालयले विद्यार्थी विवरण बुझाएको थिएन । २०७९ सालको तथ्यांकलाई हेर्दा ३९ वटा विद्यालयमा छात्रा ९ हजार ५ सय ६९ र छात्र १२ हजार ४ सय ८५ गरी २२ हजार ५४ जना देखिन्छ । उक्त वर्ष पनि ९ विद्यालयले विद्यार्थी विवरण बुझाएन ।

२०८० सालको तथ्यांकलाई हेर्दा ३० वटा विद्यालयमा छात्रा ८ हजार २९ र छात्र १० हजार ८ सय ७२ गरी १८ हजार ९ सय ४ विद्यार्थी देखिन्छ । जसमा १८ वटा विद्यालयले विद्यार्थी विवरण नबुझाएको देखिन्छ । हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुुख गंगाधर रिमालले भने सबै निजी विद्यालयहरुले विद्यार्थी विवरण बुझाएको दावी गर्दै आइरहनु भएको छ । तर, सबै निजी विद्यालयहरुले विवरण बुझाएको तथ्यांक भने उपमहानगरमा छैन । प्राविधिक कारण हुनसक्ने भन्दै दावी गरिए पनि विगतका वर्षहरुको विद्यार्थी विवरण यकिन नदेखिनुले नियमन फितलो देखिन्छ ।

निजी विद्यालयको नियमन तथा व्यवस्थापन गर्नु स्थानीय सरकारको जिम्मेवारी हो । जसमा स्थानीय सरकार फितलो देखिन्छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले उपमहानगरभित्र ३४ वटा माध्यमिक तहका र १४ वटा आधारभूत तहको गरी ४८ वटा संस्थागत (निजी) विद्यालय छन् । प्याव्सनसँग पनि निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको यकिन तथ्यांक छैन । अध्यक्ष सुवेदीले उपमहानगरभित्र कति विद्यार्थी अध्ययनरत् छन् भन्ने कुरा आफूलाई जानकारी नभएको स्वीकार्नु भयो । करिब २२ हजार विद्यार्थी अध्ययनरत् रहेको अनुमान छ । स्थानीय तहको तथ्यांक संकलन समितिले समयमा सूचना निकाल्दैन । निकालिए पनि कम समयावधिका लागि मात्र सूचना निकालिएको हुनसक्छ ।

प्राविधिक त्रुटी तथा सफ्टवेयर परिवर्तन भइरहने समस्याले पनि यकिन विद्यार्थी विवरण नदेकिएको हुनसक्ने प्याब्सन अध्यक्ष सुवेदीले बताउनुभयो । सबै विद्यालयले विद्यार्थी विवरण बुझाएको हुनुपर्ने बताउनुहुँदै सम्बन्धित निकायले बेवास्ता गर्दा यस्तो समस्या निम्तिएको जानकारी दिनुभयो । सामुदायिक विद्यालय सरकारको अनुदानबाट चलेकाले ती विद्यालयहरुको विद्यार्थी विवरण प्रष्ट देखिन्छ । छात्रवृत्तिदेखि शिक्षकलाई तलब वितरण र प्राविधिक तथा आर्थिक सहयोग राज्यले गरिरहेको हुन्छ । जसले गर्दा सबै सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीको विवरण उपमहानगरमा देखिएकोे उहाँको भनाइ छ ।

सबै सामुदायिकको विद्यालयको विद्यार्थी विवरण उपमहानगरमा देखिनु तर निजी विद्यालयको नदेखिनुले स्थानीय सरकार गैरजिम्मेवार देखिएको सुवेदीले आरोप लगाउनुभयो । यसरी स्थानीय तह र सम्बन्धित निजी विद्यालय दुबैको हेलचेक्र्याइँले यथार्थ विवरण नदेखिएको उहाँको स्पष्टोक्ति छ । राज्य सञ्चालन तथा व्यवस्थापन सहयोगका लागि यथार्थ तथ्यांक उपलब्ध गराउनु विद्यालयको महत्वपूर्ण जिम्मेवारी हो । राज्यको अनुमति लिएर खोलिएका निजी विद्यालयहरुको नियमन तथा व्यवस्थापनमा राज्य नै गैरजिम्मेवार बन्दा विगत लामो समयदेखि निजी विद्यालयहरुले विद्यार्थी विवरण नबुझाएको प्रष्ट देखिन्छ । गत वर्षदेखि हेटौंडा उपमहानगरभित्र सञ्चालित क्याम्पसबाट पनि विद्यार्थी विवरण लिने गरिएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले जनाएको छ ।

Exit mobile version