हेटौंडाः हेटौंडा–१९, बस्तीपुरमा सञ्चालनमा रहेको खुश्बु बेकरी उद्योगलाई २ लाख ५० हजार जरिवाना गरिएको छ । बिहीबार घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वमा भएको अनुगमनको क्रममा बेकरीमा विभिन्न त्रुटी देखिएपछि जरिवाना गरी शिल नै गरिएको कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत टीका शर्माले जानकारी दिनुभयो ।

उद्योगबाट उतपादित वस्तुको तौल कम रहेको, मिति फरक रहेको भन्दै कारवाही गरिएको हो । यस्तै, उत्पादित वस्तुको बिक्री गरेको बिल जारी नगरेको, फोहोर व्यवस्थापन नभएको, अनुज्ञापत्र नवीकरण नभएको र अन्य वस्तुको समेत कारोबार गर्ने गरेको पाइएपछि उद्योग कारवाहीमा परेको हो ।

अनुगमन समितिले अन्य पसल, फर्महरुलाई समेत जरिवाना गरेको छ । बस्तीपुरकै सन्तोष किराना पसललाई १० हजार जरिवाना गरेको छ । अनुगमनको क्रममा पसलमा मूल्यसूची, साइन बोर्ड, खरिद तथा बिक्री बिल नभएको र म्याद नाघेको सामान भेटिएपछि जारिवाना गरिएको शर्माले बताउनुभयो ।

बस्तीपुरमै बिनादर्ता सञ्चालन गरेको एक फार्मलाई अनुगमन टोलीले जरिवाना गरेको छ । टोलीले र्दोजे सिङ्तानले सञ्चालन गरेको फार्मलाई १० हजार रुपैयाँ जरिवाना गरी फार्म दर्ता गर्न आदेश दिएको छ । यस्तै, न्यू पराजुली स्टोर्सलाई पनि अनुगमन टोलीले १० हजार रुपैयाँ जरिवाना गरेको छ । स्टोर्सबाट म्याद सकिएको सामान, फोहोर गरेको र खरिद बिक्रीको बिल नभएको भन्दै कारबाही गरेको हो ।

अनुगमन टोलीले बस्तीपुरमा सञ्चालनमा रहेको १९ वटा उद्योग व्यवसाय अनुगमन गरेकोमा ४ वटालाई कारबाही गरेको हो । अनुगमन टोलीले निरन्तररुपमा निरीक्षण गर्दै आइरहेको छ । आगामी दिनमा उच्चरुपमा अनुगमन गर्दै जाने प्रमुख शर्माले बताउनुभयो ।