हेटौँडाः वर्षा मौसमसँगै सिमेन्टको मूल्य घटेको छ । आर्थिक मन्दिसँगै निर्माणसम्बन्धी कार्यमा कमि आएसँगै सिमेन्टको मूल्य घटेको व्यवसायीको भनाइ छ । आगामी दिनमा पनि सिमेन्टको मूल्य घट्न सक्ने व्यवसायीहरु बताउँछन् ।

हेटौँडामा सर्वाेत्तम सिमेन्टको ओपीसी प्रतिबोरा ६ सय १० रुपैयाँ र पीपीसी प्रतिबोरा ५ सय ३० रुपैयाँ रहेको छ । शिवम् सिमेन्टको प्रतिबोरा ६ सय २५ रहेको छ । रिद्धिसिद्धि सिमेन्टको ओपीसी प्रतिबोरा ६ सय २५ रुपैयाँ र पीपीसी प्रतिबोरा ५ सय २५ रुपैयाँ रहेको छ । हिउँद मौसममा सिमेन्ट पीपीसी प्रतिबोरा ५ सय ५० र ओपीसी प्रतिबोरा ६ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको थियो । रड प्रतिकेजी १ सय रुपैयाँ रहेको छ । गत हिउँदमा रड प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको थियो ।

हेटौँडा–२, कान्तिराजपथका व्यवसायी नवीन भट्टराईका अनुसार अहिले व्यापारमा कमि आइरहेको छ । कोभिड–१९ को महामारीयता व्यापारमा निरन्तर गिरावट आएको व्यवसायीले गुनासो गरेका छन् । मन्दिकै कारण व्यापार ठप्प रहेको र कतिपय व्यवसायी व्यवसाय नै बन्द गरेको उहाँले बताउनुभयो ।