हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका १६ वटा निजी विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । प्याव्सनमा आबद्ध भएका ४८ वटा निजी विद्यालयहरु मध्ये ३२ वटा विद्यालयको असार मसान्तमा परीक्षा सकिएको छ । बाँकी १६ वटा विद्यालयको परीक्षा भइरहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो ।
वर्षमा ४ पटक परीक्षा हुने विद्यालयको असार मसान्तमा परीक्षा सकिएको हो । वर्षमा ३ पटक परीक्षा हुने विद्यालयको बुधबारबाट परीक्षा सुरु भएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्याव्सनको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा हुने गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । असारमै परीक्षा सकिसकेको विद्यालयमा भने पठनपाठन सुरु भइसकेको छ । अहिले परीक्षा भैरहेको विद्यालयको परीक्षा सकिएपछि एक हप्ता विद्यालय बन्द रहने र भदौबाट नियमित पढाई सुरु हुने अध्यक्ष सुवेदीको भनाइ छ ।
परीक्षाको नतिजा विद्यालयले आफ्नो समयमा प्रकाशन गर्ने छन् । यस्तै उपमहानगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा परीक्षा सकिएको छ । साउन ९ गते परीक्षा सकिएका विद्यालयमा साउनको २७ गतेबाट पठनपाठन हुनेछ भने साउन १६ गतेबाट परीक्षा सकिएका विद्यालयमा भदौको ३ गतेबाट पठनपाठन शुरु हुनेछ ।