जिल्ला प्रहरी कार्यालय मकवानपुर ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बलात्कारको घटनामा किटानी जाहेरी दिएको एक महिनासम्म पनि अभियुक्त भेटिएका छैनन् । गत असार १७ गते एक नबालिकाले आफू पटकपटक बलात्कृत भएको भन्दै किटानी जाहेरी दिएकोमा अझै अभियुक्त पक्राउ पर्न नसकेको हो ।

काठमाडौंमा रहेको एक गलैंचा कारखानामा काम गर्ने क्रममा कोठामा आफू पटकपटक बलात्कृत भएको भन्दै एक पुरुषविरुद्व नबालिकाले अभिभावकसँगै गएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएकी थिइन् । हेटौंडा—३ बसामाडीकी १४ वर्षीया नबालिकाले आफू पटकपटक बलात्कृत भएको भन्दै २५ वर्षीय साइमन दोङविरुद्व किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरी दिएको एक महिना हुँदा पनि बलात्कारको अरोप लागेका अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । सर्लाही जिल्लाको हरिवन नगरपालिका—१०, नयाँरोडका २५ वर्षीय दोङलाई प्रहरीले पक्राउ गर्न नसकेको हो ।

नाताले दिदी पर्ने सिन्धुपाल्चोक जिल्लाकी २६ वर्षीया एक महिलाले दोङलाई बलात्कार गर्न सहयोग गरेको आरोप थियो । आरोपित महिला गर्भवती भएका कारण साधारण तारेखमा छाडिएको हेटौंडा—१० की वडा सहजकर्ता सविता बिष्टले जानकारी दिनुभयो । हेटौंडा—१० मा नबालिकाकी अभिभावक डेरा गरी बस्ने गरेको उहाँले बताउनुभयो । अहिले अभिभावककै सम्पर्कमा नबालिका रहेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले अभियुक्त दोङ प्रहरीको फरार सूचीमा रहेको बताउनुभयो । प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालय सबैमा दोङलाई पक्राउ पुर्जी जारी गरिसकेको उहाँको भनाइ छ । कहिँकतै दोङलाई देखेमा प्रहरी कार्यालयमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो । नबालिकाकी बाबुले आफूहरुको आर्थिक अवस्था कमजोर भएका कारण अभियुक्तलाई पक्राउ गर्न नसकेको आरोप लगाउनुभयो ।