Home मुख्य समाचार हावाहुरीका कारणले ज्यान गुमाएका परिवार र उपचाररतलाई क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग

हावाहुरीका कारणले ज्यान गुमाएका परिवार र उपचाररतलाई क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग

हेटौंडाः बागमती प्रदेशसभाको विशेष समयमा बोल्नुहुँदै मकवानपुरकी सांसद मुनु सिग्देलले मंगलबार साँझ आएको हावाहुरीले ज्यान गुमाएका राक्सिराङ–५, चैनपुरकी ५० वर्षीया वीरमाया प्रजा र वडा नम्बर–३, पलासेका ६ वर्षीय बालक आयुष मगरको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।

त्यस्तै हिजो आएको हावहुरीका कारण घाइते राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय शम्भु सुनार र २८ वर्षीय मनिकलाल बलको उपचारमा सक्दो सहयोग गर्न आज प्रदेश सरकारसँग माग गर्नुभएको छ । यस्तै प्रदेशको राजधानी हेटौंडा क्षेत्रमा हावाहुरीले तरकारी बारी नष्ट गर्नुका साथै किसानहरुको टनेल, घर ध्वस्त भएकाहरुको  क्षतिको विवरण  संकलन गरी राहत प्याकेजको घोषणा गर्न उहाँले प्रदेश सभाको बैठकमा जोडदार माग गर्नुभयो । यस्तै मकवानपुरको मनहरी, बागमती बकैया क्षेत्रमा हावाहुरीले निकै प्रभाव पारेको भन्दै त्यसको क्षतिको मुल्यांकन गरेर नागरिकलाई राहत प्रदेश सरकारले विपद कोषबाट दिन माग गर्नुभयो । हावाहुरीले यसअघि पनि मनहरी लगायतका क्षेत्रमा घरको छाना उडाएको थियो । उनीहरुलाई गाउँपालिकाले जस्ता वितरण गरेता पनि अझै जस्ताविहिन बस्न बाध्य छन् ।  

यस्तै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँले हावाहुरीका कारणले रुख ढलेर मृत्यु भएको मकवानपुरको परिवारलाई तत्काल १ लाख र उपचाररत परिवारलाई सहयोग गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ ।

Exit mobile version