यु–१९ फुटबलमा पहिलो चरणमा छानिएका खेलाडीहरु ।

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघले १९ वर्ष उमेर समूहको किशोर खेलाडी छनोटको पहिलो चरणमा ६६ जनाको नाम सार्वजनिक गरेको छ । आइतबार र सोमबार दुइदिनको खेल कौशल प्रदर्शनपछि मकवानपुर जिल्ला फुटबल संघले ६६ जनाको नाम सार्वजनिक गरेको हो ।

छनोटमा सहभागी १ सय २१ जनामध्ये करिब आधा खेलाडी पहिलो चरणमा छनोट गरिएको मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवी सुवेदीले जानकारी दिनुभएको छ । सुनिल लोप्चनको संयोजकत्वमा १९ वर्ष उमेर समूहको खेलाडी छनोट समिति गठन गरिएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भइरहेको छनोटको अन्तिम सूचि आज मंगलबार सार्वजनिक हुनेछ । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट हुँदै राष्ट्रिय छनोट प्रक्रियामा सहभागी हुनेछ । जिल्लाबाट बढीमा ३० जना खेलाडी छनोट गरिने महासचिव सुवेदीले बताउनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १९ वर्ष उमेर समूहको साफ च्याम्पियनसीपमा सहभागी हुने राष्ट्रिय टिम तयार पार्न जिल्लादेखि नै छनोटको प्रक्रिया अपनाएको हो ।

मकवानपुर जिल्लामा छनोट प्रतियोगितामा सहभागी हुन हेटौँडा बजार क्षेत्र र आसपासका साथै जिल्लाका सबै पालिका र ग्रामीण क्षेत्रबाट पनि किशोर खेलाडी सहभागी भएको महासचिव सुवेदीले जानकारी दिनुभएको छ । जिल्लास्थित एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठसहित प्रशिक्षकहरुको समूहले खेलाडी छनोट गरिरहेको छ । जिल्लाबाट छानिएका खेलाडीलाई प्रदेशस्तरीय छनोटमा सहभागी हुन काठमाडौं पठाइनेछ । यसअघि १६ वर्ष उमेर समूहको छनोटको जिल्ला र प्रदेश छनोट सकिएको छ । प्रदेशस्तरीय छनोटमा मकवानपुरका १२ जना सफल भएका छन् । बागमती प्रदेश फुटबल संघको आयोजनामा बुधबार र बिहिबार एन्फा कम्प्लेक्समा भएको प्रदेशस्तरीय छनोटमा मकवानपुरबाट १२ जना खेलाडी छानिएका छन् ।