Home खेलकुद यु–१६ फुटबल खेलाडीलाई खेल सामग्री वितरण

यु–१६ फुटबल खेलाडीलाई खेल सामग्री वितरण

प्रदेशस्तरीय छनोटमा सफल १२ खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्ला खेलकुद विकास समितिले बुट हस्तान्तरण गरेपछि खिचिएको तस्वीर । फाइल तस्वीर ।

हेटौंडाः जिल्ला खेलकुद विकास समिति मकवानपुरले यु–१६ फुटबल खेलाडी छनौटअन्तर्गत् प्रदेशमा छनौट भएका १२ जना खेलाडीहरुलाई खेल सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला खेलकुद विकास समितिले १२ जना खेलाडीलाई एक–एक थान बुट र जुराफ वितरण गरेको हो ।

दोस्रो चरणमा प्रदेशमा छनौट भएका १२ जना खेलाडीहरु काठमाडौंको एन्फा कम्प्लेक्समा आज मंगलबारबाट साउन २० गतेसम्म हुने अन्तिम तथा राष्ट्रियस्तरको छनौट चरणमा सहभागी हुँदैछन् । प्रदेशमा छनौट भएका खेलाडीहरुलाई बधाई दिनुहुँदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले धैर्यतापूर्वक छनौट खेल खेल्न आग्रह गर्नुभयो ।

मकवानपुरबाट एरोन गुरुङ, रवि थिङ, पवन दर्लामी, विकल राना मगर, लिसन गुरुङ, रिजन जिसी, असन प्रजा, प्रमित खत्री, उप्रान्त आले, रोशन गोले, प्रनिष भण्डारी र अमित स्याङ्तान प्रदेशस्तरीय छनोट पार गर्न सफल भएका छन् । कार्यक्रममा बागमती खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला र जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामालगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version