मकवानपुर जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा सकिएको छ । जिल्लाको कैलाश गाउँपालिकाबाहेक अन्य पालिकाहरुमा वर्षे विदाअगावै प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिएको छ । अत्यधिक गर्मीका कारण गत जेठको तेस्रो साताबाट केही दिन विद्यालय बन्द भएका पालिकाहरुमा त्रैमासिक परीक्षा चलिरहेको छ भने अन्य पालिकाहरुमा वर्षे विदा सुरु भइसकेको छ । हेटौंडा उपमहानगरभित्रका धेरै सामुदायिक विद्यालयहरुमा पनि अहिले प्रथम त्रैमासिक परीक्षा चलिरहेको छ । एक–दुई दिनभित्रै सबैजसो सामुदायिक विद्यालयको त्रैमासिक परीक्षा समाप्त भएर वर्षे विदा सुरु हुनेछ । सामुदायिक विद्यालयहरुमा कम्तिमा दुई साता वर्षे विदा हुनेछ । हेटौंडाका संस्थागत विद्यालयहरुमा पनि त्रैमासिक परीक्षा सुरु हुँदैछ । त्रैमासिक परीक्षापछि संस्थागत विद्यालयहरु पनि केही दिन विदा हुनेछन् । सामान्यतयाः परीक्षापछि विदा भएकाले अधिकांश विद्यार्थीमा विदामा औपचारिक पठनपाठनको चिन्ता हुनेछैन । यद्यपि कतिपय विद्यालयहरुले विदाका लागि विद्यार्थीलाई गृहकार्य तथा परियोजना कार्यहरु दिनसक्ने भएकाले केही समय त्यसमा लगाउनुपर्ने बाध्यता हुनसक्छ ।
विद्यार्थी जीवनमा पठनपाठन, परीक्षा र विदा नियमित र सामान्य प्रक्रिया हो । विद्यालय सञ्चालन भएको समयमा नियमित पठनपाठन हुन्छ । तोकिएको आवधिक र वार्षिक परीक्षाहरु विद्यार्थीले दिनैपर्छ । चाडपर्व तथा वर्षे÷हिउँदे विदा पनि भइरहन्छन् । अहिले प्रथम त्रैमासिक परीक्षापछि कतिपय सामुदायिक विद्यालयका विद्यार्थी विदामा छन् । कतिपयको परीक्षा सकिनै लागेको छ र परीक्षापछि लगत्तै विदा हुँदैछ । परीक्षा सकिएपछि विद्यार्थीमा एकप्रकारको स्वच्छन्दता देखिन्छ । नियमित विद्यालयको पठनपाठन र परीक्षाको तयारीले एकोहोरो भएका विद्यार्थी परीक्षापछि उन्मुक्त भएको महसुस गर्नु स्वभाविक हो । विदामा विद्यार्थी केही समयका लागि भएपनि पढाइ÷लेखाइको चिन्ताबाट मुक्त हुन्छन् । विदाको समयमा आराम गर्ने, आफन्तकहाँ भेटघाट गर्न जाने, कतै घुम्न जाने कार्यमा विद्यार्थी व्यस्त हुने गरेका छन् ।
विदाको समयलाई कतिपय विद्यार्थीले सदुपयोग गर्छन् भने केहीले दुरुपयोग पनि गर्ने गरेको पाइन्छ । परीक्षा दिएर बसेका विद्यार्थीले विदाको समयलाई आराम गर्ने तथा नयाँ कुरा सिक्ने अवसरका रुपमा उपयोग गर्नु आवश्यक छ । विदाको समयमा मोबाइलमा अनावश्यक कुरा हेर्ने, धेरै समय मोबाइल चलाउने वा टिभी हेर्ने, साथीहरुसँग बरालिने, खराब क्रियाकलापमा संलग्न हुने गर्नु उचित हुँदैन । विदामा पनि विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता दिँदा राम्रो हुन्छ । विद्यालय खुलेको समयमा पाठ्यपुस्तक अध्ययन गर्नुपर्ने भएकाले विदाको समयमा आफ्नो रुचिअनुसारका उपयोगी पुस्तकहरुको अध्ययन गर्नु राम्रो हुन्छ । विद्यार्थीका लागि उपयोगी सामान्यज्ञान, कथा, कविता, निबन्ध, जीवनी र अन्य जीवनोपयोगी किताब, पत्रपत्रिका जोहो गरेर अध्ययन गर्दा विदाको सदुपयोग हुनसक्छ । यस्तै, विदाको समयमा आफ्नो रुचिअनुसारका सिर्जनात्मक क्रियाकलापमा ब्यस्त हुन सकिन्छ ।
विदालाई विद्यार्थीले फुर्सदको समय हो भनेर समय बर्बाद गर्ने काममा अग्रसर हुनु हुँदैन । एक चरणको परीक्षा सकिएकोमा मख्ख पर्दै नकारात्मक क्रियाकलाप तथा विकृतिप्रति विद्यार्थी आकर्षित भएमा त्यसले जीवन नै अन्धकारतिर लैजान सक्छ । विदामा विद्यालयले दिएका गृहकार्य गर्ने, विषयगत पाठनहरुको नोट तयार गर्ने, आफूलाई जटिल लाग्ने वा रुचि भएका पाठहरु अध्ययन तथा अभ्यास गर्ने गर्नुपर्छ । मोबाइल वा टिभीबाटै पनि शिक्षामूलक कुराहरु हेर्ने, पढ्ने गर्न सकिन्छ । परीक्षापछिको विदाको समयलाई अभिभावकसँगको सल्लाहमा विद्यार्थीले उपयोगी बनाउन सकेमा विदाको सदुपयोग हुनसक्छ ।