Home मुख्य समाचार २५ मिटर सडक विस्तार प्रकरणः आत्मदाहको चेतावनीपत्र बुझेर द्वन्द्व बढाउँदै स्थानीय सरकार

२५ मिटर सडक विस्तार प्रकरणः आत्मदाहको चेतावनीपत्र बुझेर द्वन्द्व बढाउँदै स्थानीय सरकार

सडक विस्तार नभए आत्मदाह गर्ने चेतावनीसहितको ज्ञापनपत्र नगरप्रमुखलाई बुझाउँदै हेटौंडा–८, कमानेका एक परिवार । तस्वीरः नगरप्रमुखको सचिवालय ।

समाचार टिप्पणी
हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातोमाटेदेखि राप्तीपुलसम्मको सडकखण्डमा सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ गज (२२ मिटर) विस्तार गर्न डिभिजन सडक कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गरेको छ । संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयले ३५ दिने सूचना प्रकाशित गरेको म्याद सोमबार पूरा भएको छ । साउन १६ गते अर्थात भोलि मंगलबारदेखि सडक विस्तारको कार्यलाई डिभिजन सडक कार्यालयले कसरी कार्यान्वयन गर्छ भन्ने आम चासो र जिज्ञासाको विषय छ । सडक विस्तारको विषय संघीय सरकारको जिम्मेवारीको विषय भए पनि हेटौँडा उपमहानगरपालिकाले भने अनावश्यक उपस्थिति जनाउँदै द्वन्द्व बढाउने काम गरिरहेको छ ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा आफैंले सडक विस्तार गर्ने जस्तो कहिले “आइ एम रेडी” भनेर भाषण गरिरहनुभएको छ भने सडक विस्तार हुँदा पीडित हुने समूहको गुनासो सुन्ने बेलामा भागिरहनुभएको छ । यत्ति मात्रैमा नगरप्रमुखको भूमिका सकिएको छैन । हुँदा हुँदा सोमबार एक समूहले सडक विस्तार नभए सामूहिक आत्मदाह गर्छौं भनेको विज्ञप्ति बुझ्दै कर्मचारीमार्फत समाचार लेखाएर सञ्चार माध्यमहरुमा प्रकाशित गर्नेसम्मको कार्य गरिरहनुभएको छ । तीन वटा महत्वपूर्ण चरणमा नगर प्रमुखले समस्या समाधान गर्न भन्दा समस्यालाई बल्झाउने काम गरिरहनु भएको छ ।

सडक विस्तारको मुद्दा दशकौंदेखिको हो । सडक विस्तारको मुद्दामा हेटौँडा उपमहानगरपालिका सरोकारवाला एक पक्षको रुपमा मात्रै रहेको छ । सडक विस्तारको आवश्यकता छ या छैन भन्ने आधारमा उपमहानगरपालिकाले आफ्नो भूमिकालाई एउटा पक्षको रुपमा मात्रै सीमित राख्नुपर्ने विपरित नगरप्रमुखको अग्रसरता अस्वभाविक छ । सडक विस्तारको कार्यमा संघीय सरकारको अग्रसरतालाई उपमहानगरले आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने र पीडित हुने आफ्नै नगरवासीका समस्या सुन्ने, बुझ्ने, सक्दा संघीय सरकारलाई क्षतिपूर्ति, राहतका लागि आग्रह गर्ने मात्रै हुनुपर्ने हो । तर, नगरप्रमुख म तयार छु, अब सडक विस्तार गर्नुपर्छ, घरहरु भत्कनुपर्छ भनेर तम्सनु नगरवासीप्रति अन्याय मात्रै हो । नगरप्रमुख मीनाकुमारी लामाले बुझ्नु पर्छ कि यदि संघीय सरकारले चाहेन भने सडक विस्तारको कार्य रोकिनेछ । उपमहानगरपालिकाकी मेयरले मात्रै चाहेर सडक विस्तार हुन्न भन्ने स्पष्ट हुनुपर्छ ।

गत असार २४ गते नगरप्रमुख, उपप्रमुखको अनुपस्थितिमा कार्यकारी प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै सडक विस्तारबाट पीडित हुने घरधनी, व्यवसायी ।

सडक विस्तारको कार्यमा भइरहेको ढिलाईले समस्यालाई बढाउँदै लगेको छ । जसलाई जो कसैले चाहेर पूर्णतः समाधान गर्न सक्ने अवस्था छैन । सडक विस्तारको आवश्यकतालाई लिएर सडक विस्तार गर्नुहुन्न भन्ने पक्षमा स्वयम् सडक विस्तार हुँदा पीडित हुने पक्ष समेत सहमत छन् । पीडित पक्षको माग भनेको मुआव्जा या क्षतिपूर्ति पाउनुपर्ने, व्यवसायीले व्यवसाय स्थानान्तरण गर्न समय दिनुपर्ने रहेको छ । पीडित पक्षका मागका बारेमा सक्दो सहजीकरण मात्रै गरिदिए पुग्ने स्थानीय सरकार आफैंले सडक विस्तार गर्नेजस्तो अनावश्यक अग्रसरता देखाउनु आफ्नै लागि हानिकारक मात्रै भएको छ ।

अनावश्यक अग्रसरता देखाएको नगरप्रमुखले नगरवासीले आफ्ना गुनासा, माग पेश गर्छु भन्दा नगरप्रमुख आफ्नो कार्यकक्षमा अनुपस्थित रहनुभयो । उहाँको अनुपस्थिति स्वभाविक या अस्वभाविक के थियो । तर, ढिलो–चाँडो नगरप्रमुखले नगरवासीको गुनासा, मागलाई आफैंले ग्रहण गर्नुपर्ने थियो । सडक विस्तार हुँदा पीडित हुने घरधनी, व्यवसायीले आफ्ना गुनासा र मागको ज्ञापनपत्र नगरका कार्यकारी प्रमुख अर्थात कर्मचारीलाई बुझाउन बाध्य भए । जनताले जनप्रतिनिधिलाई भेट्न पाएनन्, आफ्ना दुख, पीडा, गुनासा सुनाउन पाएनन् । आफ्ना गुनासा, माग आफ्ना प्रतिनिधिलाई औपचारिकरुपमा बुझाउन नपाएका नगरवासीले शनिबार हेटौँडाको बुद्धचोकमा आफ्ना गुनासा, मागहरु सार्वजनिक गरे ।

नगरवासी आफ्ना प्रतिनिधिले आफ्ना माग नसुनेको भनेर दुखित् भइरहेकै बेला सोमबार नगर प्रमुख मीना कुमारी लामाले एउटा यस्तो ऐतिहासिक ज्ञापनपत्र बुझ्नु भयो जसलाई जो कसैले आश्चर्य मान्ने छन् । सडक विस्तारको विषयलाई लिएर ठिक ठान्ने र बेठिक ठान्ने दुवै समूहले एउटा तथ्य के बुझेका छन् भने सडक विस्तारका बेलामा घरधनी र व्यवसायी दुवै मर्कामा पर्नेछन् । यो समयमा उनीहरुप्रति सकारात्मक भावना प्रस्तुत गर्नुपर्छ, सहयोग, सल्लाह, सुझाव दिनुपर्छ । घरधनीलाई बसोबास व्यवस्थापनमा, व्यवसायीलाई व्यवसाय व्यवस्थापनमा सक्दो सहयोग गर्नुपर्छ । यो आधारभूत मानवीय भावना पनि हो । तर, नगरप्रमुख मीना कुमारी लामाले सोमबार कार्यकक्षमा एक समूहको ज्ञापनपत्र बुझ्नुभयो । हेटौँडा–८, कमानेका एक परिवारले सडक नभत्काए आत्मदाह गर्ने चेतावनीसहितको ज्ञापनपत्र नगरप्रमुख लामाले आफ्नो कार्यकक्षमै बुझ्नुभयो ।

गत शनिबार हेटौँडाको बुद्धचोकमा सडक विस्तारको विरोधमा प्रदर्शन गर्दै ।

नगरप्रमुख लामाले आत्मदाह गर्ने चेतावनी दिने परिवारको ज्ञापनपत्र बुझ्ने क्रममा जनताद्वारा निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको भित्ताको तस्वीरलाई पनि साक्षी राखेर, मिलाएर खिच्नुभएको छ । सामान्यतः एउटा व्यक्तिले आत्मदाहको चेतावनी दिँदै गर्दा जो कसैले यसो गर्नुहुन्न भनेर सम्झाउनु पर्छ । पत्रको शीर्षकमा ज्ञापनपत्र भनेर लेखिएको भए पनि खासमा त्यो सरकार प्रमुखलाई चेतावनी पत्र हो । नेपालको कानुनले बाँच्न पाउने अधिकारलाई मौलिक हकमा समावेश गरेको छ । संविधानतः आत्मदाह गर्नु पनि अपराध हो । कसैले अपराध गर्छु भनेको लिखत ज्ञानी भएर ग्रहण गर्नु सरकार प्रमुखको नैतिकताले दिन्छ ?

आत्मदाह गर्ने चेतावनीको पत्र नगरप्रमुखको कार्यकक्षमा मात्रै सीमित रहेन । नगरप्रमुख मातहतकै कर्मचारी, नगरप्रमुखको सचिवालयकै कर्मचारीले नगरप्रमुखले शानदार, बहादुरीपूर्ण कर्म गरेको जस्तै गरी “सडक नभत्के सामुहिक आत्मदाह गछौं भन्दै नगर प्रमुखलाई ज्ञापन” शीर्षकको समाचार फोटोसहित सञ्चारमाध्यमहरुमा इमेलमार्फत प्रवाह गरिएको छ । नगरप्रमुखको सचिवालयका कर्मचारीले पठाएको समाचार र आत्मदाहको चेतावनीपत्र नगरप्रमुखले बुझ्दै गरेको तस्वीर अनलाइन माध्यमहरुमा केही मिनेटमै सार्वजनिक भयो । नगरप्रमुखले एउटा परिवारलाई आत्मदाह गर्न प्रेरित गर्ने गरी आएको समाचारलाई सञ्चार माध्यमले पनि गम्भीररुपमा नलिई सहजै सडक उद्घाटन गर्ने जस्तो, कुनै तालिम उद्घाटन गरेजस्तो सार्वजनिक गरेका छन् ।

ज्ञापनपत्र शीर्षकमा चेतावनीपत्र बुझाउन आउने हेटौंडा–८ का एक परिवारले राजमार्ग भत्कनुपर्छ या भत्कनु पर्दैन दुई मध्ये एक पक्षमा आफ्नो धारणा राख्न पाउँछ, त्यसो भन्न पाउनुपर्छ । तर, अरु कसैको घर नभत्के आत्मदाह गर्छु भन्ने अधिकार उसलाई छैन । यत्ति कुरा नबुझी नगर प्रमुख मीना कुमारी लामा र उहाँको सचिवालयबाट भएको गैरजिम्मेवारीपूर्ण कार्य आत्महत्या गर्न दुरुत्साहन गर्ने कार्यभित्र समेत पर्ने जोखिम छ ।

नगरप्रमुखको यस किसिमको गैरजिम्मेवारीपूर्ण सक्रियताले नगरवासी, वडावासीमा द्वन्द्वको स्थिति सिर्जना हुने निश्चित छ । सडक विस्तार नभए आत्मदाह गर्छु भन्दै नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउने व्यक्तिको तस्वीरमा सडकविस्तार हुँदा पीडित हुने घरधनी, व्यवसायीले अनेकौं आरोपप्रत्यारोप लगाउन सुरु गरिसकेका छन् । उनीहरुको सुरक्षाको जिम्मेवारी कसले लिन्छ ?

Exit mobile version