Home मुख्य समाचार हेटौंडाकी एक महिलालाई कोरोना संक्रमण पुष्टि, संक्रमित महिलालाई कोरोना अस्पताल भरतपुर पठाइयो

हेटौंडाकी एक महिलालाई कोरोना संक्रमण पुष्टि, संक्रमित महिलालाई कोरोना अस्पताल भरतपुर पठाइयो

हेटौंडाः हेटौंडा–१, चौकीटोलकी एक महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हेटौंडा अस्पतालका डा. हरिबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ ९ गते हेटौंडा अस्पतालको ज्वरो क्लिनिकमा परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

आज बिहान ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनलाई उपचारका लागि चितवन जिल्लाको भरतपुरस्थित अस्थायी कोरोना अस्पताल पठाइएको डा. खड्काले बताउनुभयो । कोरोना संक्रमित महिलाको घर हेटौंडा–१, चौकीटोल भए पनि उनी चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका बस्दै आएकी थिइन् । उनी जेठ ९ गते नै हेटौंडा आएको जानकारी प्राप्त भएको डा. खड्काले बताउनुभयो ।

कोरोना संक्रमति पहिचान भएपछि आवश्यक कार्य गर्न अहिले विश्व स्वास्थ्य संगठनका चिकित्सक, हेटौंडा अस्पतालका चिकित्सक, सुरक्षा निकायसँग आवश्यक तयारीबारे छलफल सुरु भएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले जानकारी दिनुभएको छ ।

Exit mobile version