हेटौँडाः प्रदेशको विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै घटनामा एकै दिन ४ जनाको मृत्यु भएको छ । धादिङ, काभ्रे र चितवन जिल्लामा ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–६ पिप्लेअर्चलेमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुने ७४ वर्षीया टिकादेवी दाहाल रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो १ बजेको समयमा दाहालले आफ्नै घरमा लुगा सुकाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार लगिएको प्रहरीले जानकारी दिएको छ । धादिङ जिल्लाकै निलकण्ठ नगरपालिका–५ पतेनीमा एक जना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा ७५ वर्षीय राम बहादुर परियार रहेको प्रहरीले जानकारी दिएको छ । वृद्ध परियार आइतबार मध्यान्न १२ बजेको समयमा आफ्नो घरदेखि ५ सय मिटर पश्चिम खाल्टे–धादिङबेशी सडक खण्डको छेउमा मृत फेला परेका थिए । अनुसन्धानका क्रममा परियार दैनिक रुपमा मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, काभ्रे जिल्लाको बनेपा नगरपालिका–७ तरकारी बजारमा एकजा पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३९ वर्षीय प्रदिप बहादुर धिताल रहेको प्रहरीले जनाएको छ । धिताल आइतबार बिहान १० बजेर ५० मिनेटको समयमा आफ्नै घरको कोठा भित्र मृत फेला परेका थिए । अनुसन्धानका क्रममा धिताल सुगर प्रेसरको बिरामी रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।
चितवन जिल्लाको कालिका नगरपालिका–८, न्युरेनीमा कुलोमा डुबेर एकजना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ४५ वर्षीया देवु आले मगर रहेको प्रहरीले जानकारी दिएको छ । मगर आइतबार साँझ ७ बजेको समयमा घर नजिकै नुहाउन कुलोमा गएकोमा घर फर्की नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा कुलोमा डुबिरहेको अवस्थामा फेला परेकी थिईन् । मगरलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।