सम्मानपछि खिचिएको सामुहिक तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले विभिन्न संकायमा अध्ययन गरी उच्च अंकसहित नेपाल टप हुने विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यार्थीलाई अध्यापनका लागि प्रेरणा मिलोस भन्ने उद्देश्यसहित उपमहानगरले नगद ५ हजार एक सय रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेको हो ।

नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले २०७९ सालको एईई परीक्षामा ४ जिपिए प्राप्त गरी जिल्ला प्रथम हुन सफल डाफिन राइका, मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिए सातौं सेमेष्टरमा सहभागी हेटौँडा–९ की सृष्टी महर्जन र मकवानपुर क्याम्पसबाटै बिबिएसमा सामुदायिक क्याम्पसतर्फ नेपाल प्रथम हुन सफल हेटौँडा–६ का प्रकाश गौतमलाई सम्मान गर्नुभएको हो ।

नगर प्रमुख मीनाकुमारी लामाले आर्थिक अभावका कारण कसैले पनि पढ्न नपाउने वातावरण नगरले नबनाउने बताउनुभयो । उहाँले नगरको शैक्षिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले काम गरिरहेको पनि बताउनुभयो । उपमहानगर आफैले इन्जिनियरिङ्ग कक्षा चलाउनका लागि पहल भैरहेको भन्दै नयाँ विषय र प्राविधिक कक्षा सञ्चालन अहिलेको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुुख बानियाँले शिक्षामा उज्वल भविष्य बोकेका विद्यार्थीको अध्ययनमा उपमहानगरले कुनै कसर बाँकि नराख्ने जानकारी दिनुभयो । सम्मान कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, उपमहानगरका विज्ञ सल्लाहकार कृष्ण धिताल, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, मकवानपुर क्याम्पसका क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, तासिर इङ्गलिस बोर्डिङका प्रिन्सिपल बिनोद थपलियाको आतिथ्य रहेको थियो ।