Home मुख्य समाचार हेटौँडासहित पाँच पालिकाले सार्वजनिक गरेनन् एसईईको नतिजा विवरण

हेटौँडासहित पाँच पालिकाले सार्वजनिक गरेनन् एसईईको नतिजा विवरण

हेटौंडाः राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको एक साता भएको छ । गत बिहीबार सार्वजनिक गरिएको एसईई परीक्षाको नतिजाको विवरण मकवानपुर जिल्लाको ५ वटा पालिकाले सार्वजनिक गरेका छैनन् । जिल्लाका एक उपमहानगरपालिका, एक नगरपालिका र ८ वटा गाउँपालिकामध्ये ५ वटा गाउँपालिकाले मात्र एसईईको समष्टिगत नतिजा सार्वजनिक गरेका छन् ।

भीमफेदी, मनहरी, बकैया, कैलाश र मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयबाट कति जना विद्यार्थीले कति जीपीए प्राप्त गरे भन्ने विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाहरुले सामाजिक सञ्जालमार्फत् एसईईको नतिजा विवरण सार्वजनिक गरेका छन् । परीक्षाको नतिजा प्रकाशन एक सातासम्म पनि हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, राक्सिराङ गाउँपालिका र बागमती गाउँपालिकाले पालिकाका विद्यालयहरुको एसईईको नतिजा विवरण सार्वजनिक गरेको छैन । सार्वजनिक नतिजाअनुसार मकवानपुर जिल्लाका गाउँपालिकाहरुमा उच्च जीपीए ल्याउने विद्यार्थी संख्या न्यून रहेको छ ।

हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले उपमहानगरभित्र रहेका विद्यालयबाट कति विद्यार्थीले कुन जीपीए प्राप्त गरे भन्ने विवरण सार्वजनिक नगरेको स्वीकार गर्नुभयो । माध्यमिक तहका विद्यालयबाट कति विद्यार्थी परीक्षामा सहभागी भए र कति–कति जीपीए प्राप्त गरे भन्ने तथ्यांक जानकारी नभएको उहाँको भनाइ छ । विद्यालयहरुबाट नतिजा विवरण संकलनको क्रममा रहेको र सबै विद्यालयबाट प्राप्त नभइसकेको उहाँले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरभित्र २९ वटा माध्यमिक तहका सामुदायिक विद्यालय छन् ।

इन्द्रसरोवर गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले पालिकाले एसईईको नतिजाको तथ्यांक राख्ने नगरेको बताउनुभयो । पालिकाभित्र ५ वटा माध्यमिक तहका विद्यालय छन् । विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीको परीक्षाको नतिजा तथ्यांक गाउँपालिकासँग छैन । बागमती गाउँपालिका शिक्षा शाखा प्रमुख प्रमोद प्रतीक राईका अनुसार ६ वटा माध्यमिक तहको विद्यालय रहेका छन् । हालसम्म पालिकाको एसईई परीक्षाको नतिजाको विवरण सार्वजनिक भएको छैन । राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाले पनि एसईई परीक्षाको नतिजाको तथ्यांक सार्वजनिक गरेको पाइएको छैन ।

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा एक जनाले ३.६ भन्दा बढी जीपीए प्राप्त गरेका छन् । ११ जना विद्यार्थीको जीपीए ३.२ देखि ३.६ सम्म रहेको छ भने १९ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । यस्तै, २५ जनाले २.४ देखि २.८ जीपीए ल्याउँदा ३२ जनाले २.० देखि २.४ जीपीए ल्याएका छन् । जीपीए १.६ भन्दा बढी र २.० सम्म ल्याउने विद्यार्थी ४२ जना र १.६ जीपीए ल्याउने विद्यार्थी ५१ जना रहेका छन् । एक सय जना विद्यार्थीको नतिजा १.६ जीपीएभन्दा कम रहेको छ । १० वटा माध्यमिक तहका विद्यालयबाट २ सय ८१ जना परीक्षामा सहभागी भएका थिए भने ५ जना अनुपस्थित थिए ।

मकवानपुरको मनहरी गाउँपालिकाबाट ३ दशमलब ६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ५ जना रहेका छन् । ३ दशमलब २१ देखि ३ दशमलब ६ जीपीए ल्याउने २५ जना, २ दशमलब ८१ देखि ३ दशमलब २ जीपीए ल्याउने ४० जना विद्यार्थी छन् । २ दशमलब ४१ देखि २ दशमलब ८ जीपीए ल्याउने ४३, २ दशमलब १ देखि २ दशमलब ४ जीपीए ल्याउने एक सय १७ जना विद्यार्थी छन् । यस्तै, १ दशमलब ६१ देखि २ जीपीए ल्याउने एक सय ८७ जना, १ दशमलब ६ जीपीए ल्याउने १५ जना र १ दशमलब ६ जीपीएभन्दा कम ल्याउने ५४ जना छन् । पालिकाभित्र रहेका ११ वटा सामुदायिक विद्यालयबाट ४ सय ९२ विद्यार्थीले एसईई परीक्षा दिएका थिए । यस्तै ९ जना विद्यार्थी अनुपस्थित भएका थिए ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा २ जना विद्यार्थीले ३.६ भन्दा बढी जीपीए ल्याएका छन् । ३.२१ देखि ३.६ सम्म जीपीए ल्याउने विद्यार्थी ११ जना, २.८१ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी २० जना र २.४१ देखि २.८ जीपीए ल्याउने विद्यार्थी ४९ जना रहेका छन् । बकैयामा एक सय ३६ जना विद्यार्थीको जीपीए २.०१ देखि २.४ आएको छ भने एक सय ८० जनाको जीपीए १.६१ देखि २.० रहको छ । ५९ जना विद्यार्थीको जीपीए १.६ आएको छ भने ५२ जना विद्यार्थीले १.६ भन्दा कम जीपीए ल्याएका छन् । पालिकाभित्र रहेका ११ वटा सामुदायिक विद्यायलबाट ५ सय ९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाबाट ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या शून्य रहेको छ । ३.२ देखि ३.६ जीपीए प्राप्त गर्ने ३ जना, २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने १२ जना, २.४ देखि २.८ जीपीए प्राप्त गर्ने २८ जना, २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी ६७ जना छन् । यस्तै, १.६ देखि २.० जीपीए ल्याउने ७४ जना र १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थी १३ जना छन् । सबैभन्दा बढी जीपीए कालिका माध्यमिक विद्यालयका एक विद्यार्थीले ३ दशमलव ४ जीपीए ल्याएका छन् । २ सय ८ जना विद्यार्थीले परीक्षा दिएका थिए भने ११ जना परीक्षामा अनुपस्थित भएका थिए ।

Exit mobile version