नेपालमा सडक यातायातमात्र होइन हवाई यातायात पनि सुरक्षित बन्न सकिरहेका छैनन् । विभिन्न ठाउँमा भएका सडक दुर्घटनाका समाचारहरु दिनहुँ सुनिरहेका नेपालीलाई समय–समयमा हुने हवाई दुर्घटनाको समाचारले थप चिन्तित बनाउने गरेको छ । बारम्बार हवाई दुर्घटना भइरहँदा यसले नेपाली आकाश असुरक्षित रहेको आभाष दिलाइरहेको छ । हवाईजहाज तथा हेलिकप्ट दुर्घटना वृद्धि हुँदै जाँदा हवाई सुरक्षाको चिन्ता बढाएको अवस्थामा मंगलबार फेरि हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा हेलिकप्टरका नेपाली पाइलट र ५ जना मेक्सिकोका पर्यटक रहेका छन् । सोलुखुम्बुबाट काठमाडौं आउने क्रममा हेलिकप्टर दुर्घटना भएको हो । मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । उक्त हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका–५ मा दुर्घटना भएको थियो ।
बारम्बार हवाई दुर्घटना भइरहेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपालको आकाश असुरक्षित रहेको जनाउँदै आएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले भने नेपालको आकाश सुरक्षित रहेको दाबी गर्दै आएको भए पनि नेपाली आकाशमा एकपछि अर्को हवाई दुर्घटना दोहोरिइरहेका छन् । सन् २०२३ को सात महिनामा मात्रै नेपालमा चारवटा हेलिकप्टर दुर्घटना भइसकेका छन् । गत माघ १ गते पोखरामा ७२ जनाको ज्यान जाने गरी भएको यती एयरको हवाईजहाज दुर्घटनापछि नेपाली आकाशमा चार वटा हेलिकप्टर दुर्घटनामा परिसकेका छन् । २०८० वैशाख २२ गते संखुवासभामा सिम्रिक एयरको ‘९ एन–एजेजेड’ हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । यसअघि २०७९ चैत २५ गते काठमाडौंको ह्याम्स अस्पतालको छतमा रहेको हेलीप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टरको पछाडिको पुच्छरको पङ्खा खुस्किएर भएको दुर्घटनामा मानवीय क्षति भने भएन । त्यसको भोलिपल्ट धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनामा यो वर्ष ७ जनाको मृत्यु भएको छ ।
नेपालको हवाई इतिहासमा ४२ वटा हेलिकप्टर दुर्घटना भइसकेका छन् । ती मध्ये २० वटा दुर्घटनामा मानवीय क्षति भएको थियो भने २२ वटामा मानवीय क्षति भएको छैन । हेलिकप्टर दुर्घटनामा परेर हालसम्म नेपालमा १०४ जनाको मृत्यु भइसकेको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा भएको थियो । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । सन् २००६ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा हालसम्मकै सबैभन्दा २३ जनाले ज्यान गुमाएका छन् । यस्तै, सन् २०१५ मा दोलखा र सन् २००२ मा सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा क्रमशः १३ र ११ जनाको मृत्यु भएको थियो । पछिल्लो १० वर्षमा मात्रै नेपालमा १६ वटा हेलिकप्टर दुर्घटना भएका छन् । प्राधिकरणको तथ्यांक अनुसार सन् २०१८ मा तीनवटा हेलिकप्टर दुर्घटनामा परेका थिए । त्यसलाई सन् २०२३ ले उछिनिसकेको छ । २०१५, २०१६ र २०१९ मा भने दुई–दुई वटा हेलिकप्टर दुर्घटनामा परेका थिए ।
मंगलबारको दुर्घटनाले फेरि एकपटक हवाई सुरक्षाको बारेमा गम्भीर बहसको विषय बनाएको छ । अन्तर्राष्ट्रिय जगतमा नेपाली आकाश असुरक्षित रहेको भन्ने चर्चालाई यस्ता दुर्घटनाले पुष्टि गर्ने गर्दछ । प्रत्येक हवाई दुर्घटनापछि छानविन समिति बनाएर दुर्घटनाको कारण पहिचान गर्ने गरेका भए पनि दुर्घटना न्यूनीकरणतर्फ ठोस कार्य हुन सकेको छैन । हवाई दुर्घटनामा धेरैजसो खराब मौसम र मानवीय त्रुटीलाई मुख्य कारण मान्ने गरिएको छ । धेरै वर्ष पुराना र नियमित परीक्षण नभएका हवाईजहाज तथा हेलिकप्टर नेपाली आकाशमा उड्ने गरेकाले यान्त्रिक गडबडीलाई पनि हवाई दुर्घटनाको कारण हुनसक्ने भएकाले यसतर्फ सम्बद्ध निकाय गम्भीर हुनु आवश्यक छ ।