Home मुख्य समाचार हेटौँडा अस्पताललाई ८८ लाखको उपकरण हस्तान्तरण, उपकरणको प्रयोग गर्न चिकित्सकको अभाव

हेटौँडा अस्पताललाई ८८ लाखको उपकरण हस्तान्तरण, उपकरणको प्रयोग गर्न चिकित्सकको अभाव

मुटुसम्बन्धी स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण हस्तान्तरण गरिँदै ।

हेटौँडाः रोटरी क्लब अफ मकवानपुरले हेटौँडा अस्पतालका लागि मुटुको स्वास्थ्य अवस्थाबारे परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेको छ । ८८ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न ६ वटा उपकरण रोटरी क्लबले बिहिबार हेटौँडा अस्पताललाई हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष कृष्णबहादुर कार्कीले हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको उपस्थितिमा हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँलाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।

रोटरीले टिएमटी स्टेशन, इसीजी मेसिन, होल्टर सिस्टम मेसिन, पोर्टेबल इको–कार्डियो मेसिन, एबीपी मेसिन र कम्प्युटर हस्तान्तरण गरेको हो । अस्पतालले मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गर्ने उपकरण प्राप्त गरे पनि ती उपकरणको तत्काल भने प्रयोगमा आउने छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार उपकरण प्राप्त भएसँगै पूर्णकालिन चिकित्सक प्राप्त हुने अवस्था नभएका कारण भरतपुरबाट १५ दिनमा एक पटक चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था मिलाउने तयारी भएको जानकारी दिनुभएको छ । चिकित्सक व्यवस्थापन गर्न सके मुटुको स्वास्थ्य अवस्था परीक्षण गर्ने सेवा विस्तार भएर जाने डा. सापकोटा बताउनुहुन्छ ।

उपकरण हस्तान्तरण कार्यक्रममा सहभागी हेटौँडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले विषयगत अस्पताल सन्चालन गर्ने अधिकार नभएकै कारण हेटौँडा उपमहानगरले चाहेर पनि प्रसुती अस्पताल स्थापना गर्न नसकेको बताउनुभएको छ । अब हेटौँडा अस्पतालसँग सहकार्य गरेर प्रसुती सेवाको क्षमता बढाउने नगर प्रमुख लामाले बताउनुभएको छ । स्वास्थ्य क्षेत्रमा हेटौंडाको विकास गर्न निजी क्षेत्रको सहयोगप्रति आभार व्यक्त गर्नुहुँदै उपमहानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।

रोटरी क्लबका अन्तर्राष्ट्रिय विभाग प्रमुख रन्जीव श्रेष्ठले मृत्युको प्रमुख कारणमध्ये मुटुसम्बन्धी समस्या प्रमुख रहेको जानकारी दिनुभयो । रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरबाट सहयोग प्राप्त गरी हेटौँडा अस्पताललाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो । नवजात शिशुका लागि सघन उपचार कक्ष निर्माणमा पनि सहयोग गर्न सकिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Exit mobile version