कोरोना भाइरस संक्रमित हेटौंडाकी दुर्गा पौडेलका छोरा विप्लप पौडेलले सामाजिक सञ्जालमा आमाको अवस्था सामान्य भएको भनी राख्नुभएको पोष्ट ।

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमित हेटौंडा–४ की ५४ वर्षीय दुर्गा पौडेलको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । पेट तथा मुटुको समस्याका कारण काठमाडौंमा उपचाररत पौडेलको कोरोना भाइरस संक्रमणको आशंकामा पीसीआर टेस्ट गर्दा हिजो शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण पुष्टि गरेको थियो । कोरोना भाइरसको संक्रमणबाट पीडित पौडेलको अवस्था सामान्य रहेको दुर्गा पौडेलका श्रीमान् अनन्त पौडेलले जानकारी दिनुभएको छ । कोरोना भाइरस संक्रमित पौडेल काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको आइसोलेसन कक्षमा हुनुहुन्छ ।

संविधानसभा सदस्य समेत रहनुभएका अनन्त पौडेलले श्रीमतीको स्वाब परीक्षणको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ नै उल्लेख गरे पनि मन्त्रालयले गलत ठेगाना उल्लेख गरेको जानकारी दिनुभयो । संक्रमण कहाँ र कसरी भयो भन्ने यकिन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो । दुर्गा पौडेलका छोरा विप्लप पौडेलले आमाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै सामाजिक सञ्जालमै जानकारी गराउनुभएको छ । संक्रमित महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै समाचारहरु प्रकाशित भएकोप्रति पौडेल परिवारले चिन्ता व्यक्त गरेको छ । ‘मेरो आमाको अवस्था एकदम ठिक छ, बिन्ति यो अति सघन उपचार कक्ष (आइसीयु) मा सिरियस भन्ने खबर नहाल्नुस्,’ छोरा विप्लपले सामाजिक सञ्जाल फेसबुकमा आमासँगको फोटोसहित पोष्ट गर्नुभएको छ ।

सामाजिक सञ्जालमै पौडेल परिवारमा केहीदिन अघि परिवारका सदस्यको जन्मोत्सव समारोह भएको र त्यसमा राजनीतिक दलका नेता र जनप्रतिनिधिहरु समेत सहभागी भएको भन्ने अडियो सामग्री समेत सप्रेषण गरिएकोप्रति दुख व्यक्त गर्नुहुँदै श्रीमान् अनन्त पौडेलले भ्रामक विवरण सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने व्यक्तिको खोजी गरी कारवाही गर्न प्रहरीलाई जानकारी गराएको पनि बताउनुभयो ।