हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट पेश भएको छ । आइतबार भएको गाउँसभामा पालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेश गर्नुभएको हो ।
उपाध्यक्ष पाख्रिनले ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट पेश गर्नुभएको छ । संघीय सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ८६ लाख रुपैयाँ गरी जम्मा वित्तीय समानिकरण अनुदान १० करोड ६० लाख रुपैयाँ प्राप्त भएको छ । संघीय सरकार सशर्त अनुदान (शिक्षा, स्वास्थ्य, कृषि, पशु, ऊर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघुउद्यम कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण कार्यक्रमसहित) २३ करोड ९ लाख रुपैयाँ, प्रदेश सरकार सशर्त चालु अनुदान २ करोड २२ लाख ७८ हजार अनुमान गरिएको छ । पालिकाले व्ययतर्फ कुल बजेटको पुँजीगततर्फ ३२ करोड १९ लाख १२ हजार ८ सय ६४ रुपैयाँ र चालुतर्फ २९ करोड ८३ लाख ४३ हजार १ सय २६ रुपैयाँ रहेको छ । कूल व्यय अनुमानमध्ये आगामी आर्थिक वर्षका लागि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चअन्तर्गत् ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आर्थिक विकास क्षेत्रअन्तर्गत् ३ करोड ४८ लाख रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा २४ करोड ९६ लाख ५६ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै, संस्थागत विकास, सेवाप्रवाह र सुशासनअन्तर्गत् ४८ लाख रुपैयाँ विनियोजन गरेको छ भने सामाजिक विकासमा २४ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वन, वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत् ७५ लाख रकम विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रमअन्तर्गत् आर्थिक विकासतर्फ किसान सूचीकरण र वर्गीकरण, पहिचानसहितको किसान परिचयपत्र वितरण गरिने भएको छ । संघीय सरकार र बागमती प्रदेश सरकारको समन्वयमा किसान परिचयपत्र वितरण गरिने भएको हो । पालिकामा खाद्यान्न, तरकारी तथा फलफूल बालीमा उत्पादनको आधारमा कृषकहरुलाई प्रोत्साहन अनुदान उपलब्ध गराइने भएको छ ।
जमिन भाडामा लिई खेती गर्ने कृषकहरुलाई जमिन भाडाबापत प्रतिरोपनी दुई हजार रुपैयाँको दरले अनुदान उपलब्ध गराउने नीति ल्याइएको छ । यस्तै, नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिक मल वितरण प्रणालीलाई व्यवस्थित बनाउन किसान मल कार्ड लागू गरिने भएको छ । पालिकाले शिक्षातर्फ पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्राहरुका लागि उपाध्यक्ष शैक्षिक छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यस्तै, प्राविधिक तथा उच्चशिक्षा अध्ययन गरिरहेका अति विपन्न, असहाय, टुहुरा, दलित, उत्पीडित, जेहेन्दार छात्र–छात्रालाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्ने भएको छ । कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रममा समावेश गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
स्वास्थ्यतर्फ ५ वर्षमुनिका सम्पूर्ण बालबालिकालाई तोकिएको समयमा लगाउनुपर्ने सबै खोपहरु प्रदान गरिने भएको छ । स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति हुने हालको करिब ८० प्रतिशत दरलाई ९० प्रतिशत पुर्याउन गर्भवती महिलाको घरभेट साथै प्रसुति पूर्वतयारीका लागि स्वास्थ्य आमा समूहलाई परिचालन गरिने भएको छ ।
पूर्वाधार क्षेत्रतर्फ शहीद वासुदेव मार्ग निर्माण कार्यलाई निरन्तरता दिने र ‘शहीद रुद्र पाख्रिन मार्ग’लाई व्यवस्थित गर्न संघ र प्रदेश सरकारसँग बजेटको लागि आवश्यक पहल गरिने भएको छ । ऐतिहासिक स्थल मकवानपुरगढी दरबार सडकलाई यसै वर्ष पूर्णरुपमा स्ल्याब ढलान गर्ने र ढुङ्गेगढी जाने सडक पनि यसै वर्ष स्ल्याब ढलान गर्ने भएको छ ।
खेलकुदतर्फ गाउँपालिकास्तरीय खेलकुद विकास समितिमार्फत् सबै युवा क्लबहरुलाई एकाकार गरी एकीकृत खेलकुद विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै, २ नम्बर वडास्थित कुर्ले दमारमा रहेको खेल मैदानलाई पालिकास्तरको रंगशालाको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारसँग पहल गरिने भएको छ ।