हेटौँडाः हेटौँडा–काठमाडौं कान्तिलोकपथ अन्तर्गत भट्टेडाँडामा खसेको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएसँगै सडक सुचारु भएको मकवानपुर प्रहरीले जनाएको छ । बुधबार साँझ परेको वर्षाको कारणले सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।
पहिरोबाट कुनैपनि क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवनपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै, हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको कुलेखानी–सिस्नेरी सडक पनि खुलेको छ । बिहिबार बिहान ५ बजेको समयमा सडकमा पहिरो खस्दा केही समय अबरुद्ध भएको थियो । दुबै सडकमा खसेको पहिरो पन्छाउने काम सकिएसँगै सडक सुचारु भएको कार्कीले बताउनुभयो ।