हेटौँडाः आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्ले १ अर्बभन्दा बढीको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले बजेट निर्माणको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । परिषद्ले हेटौँडा–६, गौरिटारस्थित रंगशालामा राष्ट्रियस्तरको क्रिकेट मैदान, फुटबलको प्यारापिट निर्माण, एथ्लेटिक्स ट्र्याकमा सेन्थेटिक राख्ने, स्वीमिङ पुल र मोटर स्पोर्टस्को पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभएको छ ।
“आगामी आर्थिक वर्षका लागि गौरिटार रंगशालामा महत्वपूर्ण खेल पूर्वाधार निर्माण गर्ने गरी बजेट तथा कार्यक्रम पेश गरिएको छ”, सदस्य सचिव भण्डारीले भन्नुभयो, “हामीले १ अर्बभन्दा बढीको बजेट पेश गरेका छौं ।” परिषद्ले क्रिकेट मैदानका लागि ५ करोड रुपैयाँ, स्वीमिङपुलका लागि १ करोड रुपैयाँ, मोटर स्पोर्टस्का लागि ५ करोड रुपैयाँ प्रस्ताव गरिएको सदस्य सचिव भण्डारीले जानकारी दिनुभएको छ । यस्तै सिन्थेटिक ट्र्याक निर्माणका लागि १५ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ । परिषद्ले हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालाका लागि ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।
परिषद्ले आगामी आर्थिक वर्षका लागि अन्तरप्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न पनि प्रस्ताव गरेको छ । दुई वर्ष प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरिएकोले अब ती खेलाडीलाई अन्तरप्रदेश प्रतियोगितामा सहभागी गराउने योजना रहेको सदस्य सचिव भण्डारीले बताउनुभयो । अन्तरप्रदेश प्रतियोगितामा विभागीय टिमको सहभागिता नहुने, सात प्रदेशको टिमबीच प्रतियोगिता आयोजना गर्ने योजना बनाएको भण्डारीले बताउनुभयो । अन्तरप्रदेश प्रतियोगिता आयोजना गर्नका लागि ८ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको उहाँले जानकारी दिनुभयो ।
यसअघि दुई संस्करण आयोजना गरिएको प्रदेश खेलकुदलाई छनोट प्रतियोगिताको रुपमा आयोजना गरिने सदस्य–सचिव भण्डारीले बताउनुभयो । आगामी आर्थिक वर्षमा स्तरीय प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्थापनमा पनि परिषद्ले ध्यान दिने सदस्य सचिव भण्डारीले बताउनुभयो । परिषद्ले खेलाडीलाई छात्रवृत्ति प्रदान गर्न र विदेशमा प्रशिक्षणको अवसरका लागि पनि केही बजेट प्रस्ताव गरेको छ । खेलाडीलाई बन्द प्रशिक्षणका कार्यक्रम पनि राखिएको बताइएको छ ।