हेटौँडाः हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यसहित बालमैत्री सहजकर्ता र बालमैत्री सम्पर्क व्यक्तिलाई २ दिने फाइल सूची तयारी कार्यशाला सम्पन्न भएको छ । गत आइतबार हेटौँडा उपमहानगरपालिकाको आयोजना तथा एकप्याट लक्जम्वर्गको सहयोगमा शुरु भएको कार्यशाला सोमबार सम्पन्न भएको हो ।
कार्यशालामा बालमैत्री स्थानीय शासनसम्बन्धी कागजात व्यवस्थापनका लागि फाइल सूची कसरी तयारी गर्ने भन्नेबारे राष्ट्रिय बालमैत्री सहजकर्ता विष्णुप्रसाद चौवेले प्रशिक्षण दिनुभएको थियो । चौवेले बालमैत्री स्थानीय शासन घोषणाका लागि पूरा गर्नुपर्ने ५ वटा चरणहरु, ५१ वटा सूचक पूरा कसरी गर्ने भन्ने बारे सहजीकरण गर्नुभएको थियो ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको सभाध्यक्षतामा भएको कार्यशालामा महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, बालमैत्री नगर सम्पर्क व्यक्ति बिना ठिके, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, १९ वटै वडाका बालमैत्री सम्पर्क व्यक्ति र बालमैत्री सहजकर्ताको समेत उपस्थिति रहेको थियो ।