Home मुख्य समाचार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा १८ हजार नजिक

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा १८ हजार नजिक

हेटौंडाः तत्कालिन खानेपानी संस्थानको हेटौंडास्थित शाखालाई स्थानीय बोर्डमा हस्तान्तरण गरेको आज सातौं वर्ष पूरा भएको छ । सातौं वार्षिकोत्सवको पूर्वसन्ध्यामा हिजो बुधबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा करिब १८ हजार धारा उपभोक्ताका लागि जडान गरेको छ । चालु आर्थिक वर्षमा सात सय ६१ नयाँ धारा जडान गरेको बोर्डले हालसम्म १७ हजार ९ सय ४ वटा धारा उपभोक्ताका लागि जडान गरेको जनाएको छ ।

अहिले बोर्डले दैनिक १ करोड ४१ लाख लिटर पानी वितरण गरिरहेको छ । दैनिक पानीको माग भने १ करोड ६५ लाख लिटर रहेको बोर्डले जनाएको छ । हेटौंडा उपमहानगरपालिका भित्र वडा नम्बर ३, ११, १२, १३, १८ र १९ का बासिन्दाहरुले भने स्थानीयस्तरमा संचालित खानेपानी उपभोक्ता समितिहरुबाट समेत खानेपानी उपभोग गर्दे आइरहेका छन् ।

बोर्डले चालु आर्थिक वर्षमा हेटौंडा–८, कमानेस्थित रोटरी प्राविसँगै निर्माण भएको नयाँ डिप ट्यूवेल संचालनमा ल्याएको जनाएको छ । बोर्डले हेटौंडा उपमहानगरपालिका, वडा कार्यालय तथा विभिन्न संघ संस्था कार्यालयहरुबाट माग भए अनुसार बोर्डको सेवा क्षेत्र बाहिर झण्डै १० किलोमिटर पाइप वितरण गरेको र बोर्डको सेवा क्षेत्र भित्र साढे ६ किलोमिटर जिर्ण पाइप परिवर्तन पाइप लाइन सुधार गरेको जनाएको छ ।

चालु आर्थिक वर्षमा जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा हेटौंडा वडा नं. १४ बनेलधापमा ३०० घनमिटरको पानी टंकी लगायत पाइप लाइन विस्तार कार्य भइरहेको पनि जनाएको छ ।

Exit mobile version