अन्तरक्रियामा सहभागी पत्रकार विष्ट र श्रेष्ठ ।

हेटौँडाः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा कक्षा–१० मा अध्ययनरत विद्यार्थीले पत्रकार र पत्रकारिताका विविध विषयमा अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक, मकवानपुरका अग्रज पत्रकार प्रताप बिष्ट र मकवानपुर बहुमुखी क्याम्पसको आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापक एवम् समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

१० कक्षाको अनिवार्य अंग्रेजी विषयको पाठ्यक्रममा आधारित एकाई १ मा समाचारपत्रको साजसज्जा र प्रदर्शनीअन्तर्गत परियोजना कार्य गरेका विद्यार्थीले पत्रकारसँग अन्तरक्रिया समेत गरेका हुन् । विद्यार्थीले समूहमा रहेर तयार पारेका परियोजनाको अवलोकनपछि विष्ट र श्रेष्ठले विद्यार्थीसँग अन्तरक्रिया गर्नुभएको हो ।

विद्यालयका प्रिन्सिपल विनोद सुवेदी, सहायक प्रिन्सिपल एवम् अंग्रेजी विषय शिक्षक अमुल श्रेष्ठ, २ नम्बर वडास्तरीय बाल समूह सञ्जाल तथा बालजागृति बाल समूहकी अध्यक्ष कृशाङ्गी अर्यालको उपस्थितिमा भएको अन्तरक्रियामा विद्यार्थीले पत्रकारिताको प्रक्रिया, पत्रकार बन्न चाहिने योग्यता र क्षमता, सञ्चारकर्मीको रुपमा आगामी अवसर र चुनौतिको विषयमा विद्यार्थीले जिज्ञासा राखेका थिए । यस्तै अग्रज पत्रकार प्रताप विष्टसँग विद्यार्थीले पत्रकारिताको सुरुवाती समयको अनुभवका बारेमा जिज्ञासा राखेका थिए । विद्यार्थीको जिज्ञासामा विष्टले सुरुवाती समयमा सूचनाको संकलन, लेखन र सञ्चारगृहसम्म पु¥याउन भोग्नु परेका असहजताका बारेमा बताउनुभयो ।

पछिल्लो समय सूचनाप्रविधिमा भएको विकासले सहजै सूचना संकलन, लेखन र सम्प्रेषण सम्भव भएको उल्लेख गर्नुहुँदै विष्टले भन्नुभयो, “हामीले सुरुवाती समयमा समाचार लेखेर, फोटो खिचेर काठमाडौंस्थित सञ्चारगृहसम्म पठाउने क्रममा निक्कै दुख गर्नुपथ्र्यो । फोटो खिचेर एकदिनपछि तयार हुन्थ्यो । समाचार लेखेर कुरियरमार्फत काठमाडौं पठाउनु पथ्र्यो । अहिलेका विद्यार्थीलाई सुनाउँदा कथा जस्तै लाग्न सक्छ ।

अन्तरक्रियामा पत्रकार श्रेष्ठले पत्रकारिता क्षेत्रमा रुचि हुने व्यक्तिले समाजप्रति सघनरुपमा चासो र चिन्ता व्यक्त गर्नुपर्ने बताउनुभयो । विद्यालय तहको अध्ययन पूरा गरेपछि औपचारिक अध्ययन र पत्रकारिताको अभ्यास गर्दै जाने हो भने राम्रो भविष्य हुने पनि उहाँको भनाइ थियो । विद्यालयका प्रिन्सिपल सुवेदीले विद्यार्थीलाई जीवन्त बुझाइका लागि पत्रकारसँग अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।