हेटौँडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा केन्द्र सञ्चालनमा आएको हो । प्रतिनिधिसभा सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्यमा बुधबार केन्द्रको उद्घाटन गरिएको छ । केन्द्र उद्घाटनको अवसरमा निशूल्क आँखा शिविरको समेत आयोजना गरिएको थियो ।
शिविरमा २ सय ८९ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराउने मध्ये १५ जनामा मोतिविन्दुको लक्षण देखिएको थियो । मोतिविन्दुको लक्षण देखिएकाहरुलाई हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्य र समन्वयमा आवश्यक उपचारको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकालीको नेतृत्वमा स्वास्थ्यकर्मी र हेटौँडा सामुदायिक आँखा अस्पतालका अधिकारीको सहभागिता रहेको थियो । ग्रामीण आँखा केन्द्रमा आँखाको प्राथमिक उपचारका साथै आँखाको जाँच गरेर आवश्यक चश्मा पनि उपलब्ध हुनेछ । हेटौँडा सामुदायिक आँखा अस्पतालले २५ लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको केन्द्रमा एकजना नेत्र सहायक र एक जना सहायक कर्मचारी रहनेछ । कर्मचारीको व्यवस्थापन भने गाउँपालिकाले गर्नेछ । केन्द्रको सञ्चालन र व्यवस्थापन पालिकाले गर्नेछ भने प्राविधिक सहयोग हेटौँडा सामुदायिक आँखा अस्पतालले गर्नेछ ।
ग्रामीण क्षेत्रमा सेवा विस्तारका लागि कोरियाको अन ड्रिम परियोजनाले हेटौँडा सामुदायिक आँखा अस्पताललाई सहयोग गर्दै आएको अस्पतालका प्रशासन प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालले यसअघि मकवानपुरको कैलाश गाउँपालिकामा पनि यस्तै किसिमको ग्रामीण आँखा केन्द्र स्थापना गरिसकेको छ । मकवानपुरको थाहा नगरपालिका, मनहरी र बागमती गाउँपालिकामा स्थापना गरिएको आँखा केन्द्रमा भने हेटौँडा सामुदायिक आँखा अस्पतालले नै कर्मचारीको व्यवस्थापन गरेको छ । मकवानपुरको बकैया गाउँपालिकामा पनि ग्रामीण आँखा केन्द्र स्थापनाका लागि सम्झौता भइसकेको छ । आँखा केन्द्र स्थापनाका लागि सम्झौता भइसकेको छ । प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाको आँखाको परीक्षण गरिँदै ।