हेटौँडाः विभिन्न घटनामा एकै दिन चितवनामा ३ जनाको मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ बेलचोकमा एकजना पुरुषको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा काभ्रे जिल्ला घर बताउने ४६ वर्षीय शम्भु कार्की रहेको प्रहरीले जानकारी दिएको छ । कार्कीलाइ जेठ ३ गते बुधबार जिल्ला अस्पतालबाट उद्दार गरी बेलचोकस्थित मानव सेवा आश्रममा राखिएकामा आइतबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको माडी नगरपालिका–१ द्रोपदी नगरमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ५५ वर्षीय ईन्द्र बहादुर रिमाल रहेको प्रहरीले जानकारी दिएको छ । रिमाल आइतबार आफ्नै घर नजिकै रहेको राष्ट्रिय निकुञ्ज भित्र साग टिप्ने क्रममा एक्कासी भीरबाट लडी मृत्यु घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, चितवन जिल्लाका भरतपुर महानगरपालिका–१ देवघाटमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन कालिका नगरपालिका–२ बस्ने ७१ कृष्ण बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । गत बुधबार बेलुका ७ बजेको समयमा देवघाटस्थित भित्री सडक खण्डमा बा ७६ प २१५३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ गम्भिर घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा आइतबार दिउँसो १ बजेको समयमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।











