उपाधिसाथ मकवानपुरको फुटबल टिम ।

हेटौँडाः बागमती प्रदेश खेलकुदअन्तर्गत शनिबार सम्पन्न पुरुष फुटबलमा मकवानपुर च्याम्पियन बनेको छ । हेटौँडाको पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि मकवानपुर पुरुष फुटबलको च्याम्पियन टिम हो ।

खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटतर्पm धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित रच्यो । दुवै तर्पmबाट पहिलो पेनाल्टी प्रहार सफल हुन सकेन । मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको प्रहार गोलमाथि परिणत हुन सकेन । तर, मकवानपुरले त्यसपछिको प्रहारमा गोल गर्दा काठमाडौंको तीन प्रहार मात्र गोलमा परिणत भयो ।

मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गरे । काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दङ्वा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । तर, चौथो पेनाल्टी प्रहार गर्न आएका काठमाडौंका विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण जित्यो । मकवानपुरका कप्तान प्रीतम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए ।