हेटौँडाः दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल खेलको सेमीफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा घरेलु टोली मकवानपुरले उपाधि नजिक पुग्न काभ्रेको सामना गर्नुपर्नेछ । यस्तै ललितपुर र काठमाडौं सेमीफाइनलमा भिड्ने भएका छन् ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा बुधबार भएको खेलमा चितवनलाई पराजित गर्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको हो । क्वार्टरफाइनल चरणको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै चितवनले पहिलो हाफमै खेल छाडिदिएको थियो । २–० गोलअन्तरले पछि परेको स्थितिमा मकवानपुरलाई पेनाल्टी दिने निर्णयप्रति चितवनले असन्तुष्टि जनाएको थियो । डिबक्समा चितवनको खेलाडीको हातमा बलले छोएपछि रेफ्रीले मकवानपुरलाई पेनाल्टी दिने निर्णय गरेको थियो । पेनाल्टीको निर्णयप्रति असन्तुष्टी जनाउँदै चितवनको टिमले खेल छाडेको हो ।
यस्तै बुधबार नै भएको क्वार्टरफाइनल खेलमा काठमाडौंले भक्तपुरलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समय २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा काठमाडौंको गोलरक्षक सोनाम शेर्पाले उत्कृष्ट बचाउ गरे । शेर्पा म्यान अफ द म्याच घोषित भए । सेमीफाइनल खेलहरु आज बिहिबार हुनेछ भने फाइनल खेल शनिबार हुने मकवानपुर जिल्ला फुटबल संघका महासचिव छविलाल सुवेदीले जानकारी दिनुभएको छ ।
