हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ स्थित मनकामना मावि अभिभावकका लागि असल अभिभावकत्वसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अभिभावक शिक्षाअन्तर्गत अभिमुखीकरण कार्यक्रम भएको हो । सोमबार र मंगलबार दुईदिन हुने अभिमुखीकरणमा पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गरिरहनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको उपस्थितिमा पहिलो दिनको अभिमुखीकरण कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष तिमल्सिनाले विद्यालयमा शैक्षिक वातावरण बनाउन अभिभावकको भूमिका बढाउनुपर्ने बताउनुभयो । विद्यालयमा पर्याप्त शिक्षक रहेको उल्लेख गर्नुहुँदै वडा अध्यक्ष तिमल्सिनाले विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चितता विद्यालयले गर्नुपर्ने बताउनुभयो ।
प्रशिक्षक सुरेश श्रेष्ठले विद्यालय र घरको वातावरणबीच तालमेल हुँदा मात्रै विद्यार्थीको पठन, लेखन, शैक्षिक अभ्यास र सिकाई प्रभावकारी हुने बताउनुभयो । विद्यालयले अभिभावकको भूमिकालाई बढाउन, अभिभावकको सहभागितालाई बढाउन आवश्यक वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो । अभिभावकलाई पर्याप्त अभिमुखीकरण गरी घरको वातावरण राम्रो बनाउन सकियो भने विद्यालयमा शिक्षकले धेरै मिहिनेत गर्न नपर्ने श्रेष्ठको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक भोजराज चापागाईले प्रदेश सरकारको सहयोगमा विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । यसै वर्षदेखि एसईईमा विद्यार्थी सहभागी हुन थालेको जानकारी गराउनुहुँदै प्रधानाध्यापक तिमल्सिनाले विद्यार्थी संख्या न्यून भए पनि विद्यालयको सेवा क्षेत्रका सबै बालबालिका विद्यालयमा समेटिएको बताउनुभयो । विद्यार्थी केन्द्रित शैक्षिक सुधारका कार्यक्रमअन्तर्गत नै विद्यालयले कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा समेत सञ्चालन गरिरहेको सहायक प्रधानाध्यापक सविता तिमल्सिनाले जानकारी दिनुभयो ।
मनकामना माविमा प्रारम्भिक बाललिका कक्षादेखि १० कक्षासम्म १ सय ५३ जना मात्रै विद्यार्थी रहेको छ ।
विद्यालयमा ६ जना स्थायी, मावि तहमा संघीय अनुदानका २, प्रदेश सरकारको अनुदानका १ जना शिक्षक हुनुहुन्छ । यस्तै निमावि राहत २ जना र प्रावि राहत २ जना, लेखापाल १ जना र १ जना कार्यालय सहयोगी रहेको सहायक प्रधानाध्यापक तिमल्सिनाले जानकारी दिनुभयो ।